झापा,पुष १४ । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारसम्म सडक मार्गले छोएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामुनिको सुर्के गाउँसम्म सडकको सिधा पहुँच पुगेको हो । दुई वर्षअघि थालिएको सडकको ट्र्याक खन्ने काम सकिएसँगै सुर्केमा यात्रुवाहक बस पुग्न थालेका छन् । खुम्बु पासाङल्हामु–१ खरिखोलादेखि वडा–२ सुर्केसम्म १६ करोड लागतमा करिब २५ किलोमिटर सडकको ट्र्याक खोलिएको हो । गाउँपालिकाको मुख्य लगानीमा सडक खनिएसँगै लुक्ला विमानस्थलको भर पर्नु परेका सगरमाथा जाने पर्यटकका लागि वैकल्पिक मार्ग खुलेको छ ।
यसअघि माप्यदुधकोशी गाउँपालिकाले खरिखोलासम्म सडकको ट्र्याक खोलेकामा खरिखोलादेखि सुर्केसम्म भने खुम्बु पासाङल्हामु गाउँपालिकाले बाटो बनाएको खुम्बु पासाङल्हामुका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । खरिखोलादेखि थामडाँडासम्म १२ दशमलव ३ किलोमिटर सडक पालिकाको ६ करोड १४ लाखमा खनिएको छ भने थामडाँडादेखि सुर्केसम्म १२ दशमलव ५ किलोमिटर सडक ठेक्कामार्फत १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
साढे १२ किलोमिटर सडकमा गाउँपालिकाको ५० प्रतिशत र ५० प्रतिशत दुई वटा जलविद्युत् आयोजनाहरू (सिल्क पावर र दुधकोशी छैटौं) ले लगानी गरेको गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्