बिर्तामोड, पुष १५ । देशकै उत्कृष्टमा पर्न सफल झापाको बिर्तामोड २ स्थित मोहनमाया माध्यमिक विद्यालयले ५७ औ वार्षिकोत्सवका अवसरमा २सय ११जना दाता , विद्यार्थी र शिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

२०७४ सालको स्वर्ण महोत्सव तथा विद्यालयको भवन निर्माण गर्न सहयोग गर्ने ६० जना दाताहरुलाई विद्यालयले सम्मान गरेको हो । त्यस्तै विभिन्न पुरस्कार , छात्रवृत्ति र पदकबाट १४८ जना विद्यार्थी पुरस्कृत भएका छन् भने ३ जना शिक्षक पुरस्कृत र सम्मानित भएका छन् ।

विद्यालयले मोहनमाया विद्या पदक पुरस्कारबाट कक्षा १० मा अध्ययनरत ३७ जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । त्यस्तै गोपालकुमार रमा बस्नेत अक्षयकोष पुरस्कार ६ जनालाई , गंगादेवी रंगलाल चिमरिया स्मृति अक्षयकोषबाट २ जनालाई , नैनानन्द विष्णुमाया संग्रौला अक्षयकोषबाट २ जनालाई , रुपनारायण पवित्रा तिवारी स्मृति अक्षयकोषबाट २ जनालाई , चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार ११ जनालाई , सुश्री सावित्री बस्नेत अक्षयकोष पुरस्कार १६ जनालाई , राजेन्द्र संग्रौला पुरस्कार २ जनालाई , मोहनमाया पदक ५६ जनालाई र मोहनमाया विद्या पुरस्कार १४ जनालाई प्रदान गरिएको हो ।

त्यस्तै तीनजना शिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कारबाट रोहितकुमार गिरी,गोपालकुमार रमा बस्नेत अक्षयकोष पुरस्कारबाट सौरभ न्यौपाने र सुश्री सावित्री बस्नेत अक्षयकोष पुरस्कारबाट बद्रिप्रसाद न्यौपाने पुरस्कृत भएका हुन् ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता रहेको कार्यक्रमलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हर्कमाया वि.क.ले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत र कोशी प्रदेश सरकारका खानेपानी , सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीे विशिष्ट अतिथि रहेका थिए । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , दाताहरु ,अभिभावक ,विद्यार्थीलगायतको सहभागिता रहेको थियो । शिक्षक मुकुन्द ढकालले संचालन गरेको कार्यक्रममा स्वागत अनिता कार्की बस्नेतले गरेकी थिइन् ।

२०३२ साल पुषमा “प्राथमिक केन्द्र नं. ३” नामबाट स्थापना भएको सो विद्यालयमा हाल २ हजार ५०० विद्यार्थी अध्ययनरत रहेका छन् । यस शैक्षिक सत्रमा मात्र कक्षा ११ सम्म एक हजारजना नयाँ विद्यार्थी भर्ना भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । कोशी प्रदेशमै सामुदायिक विद्यालयतर्फ विज्ञान विषयमा कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी मोहनमायामा भर्ना भएको उनले जानकारी दिए । शैक्षिक सत्र २०८० मा कुल परीक्षार्थी १५७५ जनामध्ये १५३०जना सफल भएको प्रधानाध्यापक श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । जुन ९६ प्रतिशत हो । अध्ययन अध्यापनमा मोहनमाया देशकै उत्कृष्ट विद्यालयमा गनिन्छ ।

नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ एकजना मात्र मोहनमायाकी दिप्ती सुवेदी ४ जीपीए प्राप्त गरी नगर प्रथम हुन सफल भएको , एसइई परीक्षा २०७९ को आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मापदण्ड बमोजिम देशभरको उत्कृष्ट १५ र कोशी प्रदेशको उत्कृष्टमा पर्न सफल भएको ,एसइई २०८० को आधारमा यही मापदण्डमा देशभरको उत्कृष्ट पाँच र कोशी प्रदेश प्रथम हुन सफल भएको , नेपाली र अंग्रेजी दुवै माध्यमबाट ३.६० देखि ४ जीपीए ल्याएर ३७ जना उत्तीर्ण भएको र कक्षा १२ को नतिजामा (२०७९ को) कोशी प्रदेशमा उत्कृष्ट २ मा पर्न सफल भई “ केन्द्रबिन्दु + २ एजुकेशन एक्सिलेन्स अवार्ड“ प्राप्त गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्