झापा, पुष १५ । टाइब्रेकरमा मछिन्द्र फुटबल क्लबलाई हराउँदै एघारौ फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजले जितेको छ ।
फिदिम माविको खेलमैदानमा भएको फाइनल खेलमा अतिरिक्त पाँच मिनेट थप गरिएको अन्तिम एक मिनेट मछिन्द्रले जोगाउन नसक्दा टाइब्रेकरमा चर्च ब्वाइजले उपाधि हात पारेको हो ।खेलको ४४ औ मिनेटमा मछिन्द्रका बिजु भुजेलको लामो थ्रोलाई डिकाले हेडमार्फत जाली चुमाउँदै टिमलाई एक शून्यले अग्रता दिलाए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७८ औ मिनेटमा चर्च ब्वाइजका रोहन कार्कीको फ्रिकिक प्रहारलाई छिरिङ लामाले गोल गर्दै खेललाई १–१ को बराबरी बनाए । दुवै टिमको आक्रामक बनेको खेलको ८७ औ मिनेटमा मछिन्द्रका देवेन्द्रको प्रहार गोलकिप्पर कृषलको पञ्चबाट आएको बललाई हेडमार्फत गोल गर्दै शनिसले टिमलाई फेरि अग्रता दिलाए ।
उनको अग्रता सात मिनेट पनि टिक्न सकेन । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा चर्च ब्वाइजका समीरले गोल गर्दै खेललाई बराबरी बनाए ।
निर्धारित समयमा २–२ को बराबरी बनेको खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डङ्गोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकी र विदेशी खेलाडी अवोयामीले गोल गरे भने मछिन्द्रका सौरव सुब्बा, सनिस श्रेष्ठ, देवेन्द्र तामाङले गोल गर्दा दयानन्दको प्रहार कृषल मोक्तानले रोकेका थिए ।
इलाम गोल्डकपमा उपविजेता बनेको चर्च ब्वाइजले झापा कपको विजेता बन्दै फाल्गुनन्द कपको समेत उपाधि चुमेको छ । जितसँगै चर्च ब्वाइजले दश लाख रुपैयाँ प्राप्त गरेको छ भने मछिन्द्रले पाँच लाखमा चित्त बुझाएको छ ।फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिशल मोक्तान, उत्कृष्ट डिफेन्डर मच्छिन्द्र क्लबका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए ।उनीहरूले जनही रु १० हजार प्राप्त गरे ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले एक थान इभि स्कुटर प्राप्त गरे भने उदीयमान खेलाडीको रूपमा आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा ५ गोल गरेका मच्छिन्द्रका समिर तामाङ सर्वाधिक गोलकर्ता बन्दै नगद १५ हजार प्राप्त गरे ।