संस्थाको वित्तीय अनुशासन पालना गर्न विशेष पहल गर्ने
झापा । झापाका निर्माण व्यवसायीहरुको व्यावसायिक छाता संगठन निर्माण व्यवसायी संघ झापाको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशन आगामी साता बिर्तामोडमा हुँदै छ । यही पुष २१ गते बिर्तामोडको हिमाल सागर पार्टी प्यालेसमा साधारण सभा तथा अधिवेशन हुन लागेको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । जसका लागि आकांक्षीहरुले अधिवेशनअगावै समर्थन जुटाउन थालिसकेका छन् ।
निर्माण व्यवसायी संघ झापाको नयाँ नेतृत्वको लागि इन्जिनियर प्रकाशकुमार सिंहले दह्रो दावेदारी प्रस्तुत गरेका छन् । पुल्चोक इन्जिनियरिङ कलेज ललितपुरबाट इन्जिनियरिङ गरेका झापा भद्रपुर ७ निवासी सिंह निर्माण क्षेत्रका लागि एक योग्य र अनुभवी व्यक्तित्व हुन् । २०५९ सालमा इन्जिनियरिङ पूरा गरिसकेपछि उनी त्यसयता निर्माण व्यवसाय क्षेत्रमा सक्रिय छन् । निर्माण व्यवसायी उपेन्द्रप्रसाद सिंहका छोरा प्रकाश त्यही क्षेत्रमा २०५९ सालदेखि निरन्तररुपमा क्रियाशील रहेका हुन् । उनले निर्माण व्यवसायमा केन्द्रित रहेर इन्जिनियरिङ पढ्दाखेरि नै २०५८ सालमा सगरमाथा निर्माण सेवा दर्ता गरेका थिए । सोही बेलादेखि उनी निर्माण व्यवसायी संघको सदस्य रहेका छन् । पिताको निधनपछि आफ्नो कम्पनीसंगै पिताको पूर्वाञ्चल कन्स्ट्रक्सन पनि संचालन गर्दै आएको उनी बताउँछन् ।
झापामा यान्त्रिकरणबाट कालोपत्रे गर्ने कार्य आफूले नै शुरु गरेको उनको भनाई छ । २०७४ सालमा सो प्रविधि भित्र्याएपछि कालोपत्रे गर्ने कार्यले तीब्रता पाएको बताइन्छ । ‘पहिला कालोपत्रे मेनुअली हुन्थ्यो’ उनी भन्छन्,‘हामीले २०७४ सालमा मेकानिज्ड गर्यौं ।’ निर्माण व्यवसायी संघको सफल नेतृत्वमा वित्तीय , प्राविधिक र कानुनी ज्ञान हुन आबश्यक हुन्छ । यी तीनवटै मापदण्ड भएरै आफूले उम्मेद्वारी दिन लागेको उनी बताउँछन् । निर्माण व्यवसायी संघ झापालाई सक्रिय बनाउँदै निर्माण व्यवसायको क्षेत्रमा देखिएका यावत समस्या समाधान गर्ने मुख्य एजेन्डासहित उनले अध्यक्ष पदमा उम्मेद्वारी दिने बताएका छन् ।
जिल्लाका निर्माण व्यवसायीहरुको विश्वास नै आफ्नो जित्ने आधार भएको उनी बताउँछन् । नेतृत्वको जिम्मेवारी बहन गर्नसक्ने व्यक्तित्वको रुपमा आफूलाई आम निर्माण व्यवसायीहरुले विश्वास गर्ने र त्यही नै आफ्नो जित्ने आधार भएको उनको भनाई छ । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा उम्मेद्वारी दिन लागेका वर्तमान कार्यसमितिका सदस्य प्रकाश कुमार सिंहसंग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सारसंक्षेपः–
– निर्माण व्यवसायीका लागि अहिलेको कठिन परिस्थितिमा अध्यक्षमा नै किन उम्मेद्वारी ?
निर्माण व्यवसायी साथीहरुको अवस्था परिवर्तनको लागि मेरो उम्मेद्वारी हो । तीन वर्ष कार्यसमितिमा रहेर काम गर्दा मलाई तीन वर्षे अनुभवले प्रेरित गरेको छ । हामीले आफ्नो पेशा गरिरहँदा विकासे अड्डामा कार्यरत कर्मचारीबाट सार्वजनिक खरिद नियमावलीको कार्यान्वयनमा त्रुटिपूर्ण व्याख्या गर्ने गरिन्छ । नियमावली कार्यान्वयनमा देखिएको त्यस त्रुटिपूर्ण व्याख्यालाई सच्याउन जरुरी देखिन्छ । निर्माण व्यवसायी संघ अध्यक्षमुखी भएकाले अध्यक्षको क्षमतामा संघको भविष्य निर्भर रहन्छ । त्यसकारण नेतृत्वबाट गहन जिम्मेवारी पूरा गर्ने क्षमता हुनुपर्यो अर्थात अध्यक्ष क्षमतावान हुनुपर्यो ।
अर्को समस्या कार्यालयहरुको बोलपत्र आव्हान गर्दा हुने समस्याका बारेमा छलफल गर्न प्रिविट मिटिङ अनिवार्य राख्नुपर्ने जरुरी देखिन्छ । तर, त्यसलाई अनदेखा गरिँदै आएको छ । प्रत्येक व्यवसायीले प्रिविट मिटिङमा भाग लिनैपर्ने गरी प्रोत्साहन गरिनु पर्छ । समय अभावदेखि लिएर योजनाका बारेमा आइपर्न सक्ने प्राविधिक समस्याका बारेमा प्रश्न गर्न सकिन्छ । प्रिविट मिटिङबाटै योजना कार्यान्वयनका सवालमा आइपर्ने समस्या हल गर्न सकिन्छ । ठेक्कासम्बन्धी पुनरावलोकन पनि गर्न सकिन्छ ।
– तपाईको चुनावी एजेन्डा के के रहेका छन् ?
निर्माण व्यवसायी संघ झापाअन्तर्गत छुट्टै इन्जिनियरिङ इकाई गठन गरिने छ । जसले आफ्नै प्राविधिक नियुक्त गर्नेछ । क्षमता नभएका साना निर्माण व्यवसायीहरुलाई ठेक्कासम्बन्धी प्राविधिक समस्याहरुको समाधानमा ती प्राविधिकले सहयोग गर्ने छन् । जसको पहुँच छैन, उनीहरुलाई मद्धत पुग्नेछ । प्राविधिक इकाई गठन गर्न अब संभव देखिएको छ ।
त्यस्तै व्यवसायीको वृत्ति विकासको लागि नियमित रुपमा तालिम संचालन गरिने छ । कल्याणकारी कोषलाई चलायमान बनाइने छ । निर्माण व्यवसायीहरुको संख्या बढिरहेको अबस्थामा त्यसलाई संबोधन गर्न संघीय ढाँचामा परिवर्तन (सात वटा क्षेत्रको अवधारणा) गरिने छ । सबै निर्माण व्यवसायीहरुलाई एउटै नेटवर्किङमा जोड्ने प्रयास गरिने छ ।
एकै नामबाट दुई व्यवसाय दर्ता हुने अबस्थाले गर्दा टेण्डर हाल्न समस्या भइरहेकाले घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गर्दा निर्माण व्यवसायी संघसंग समन्वय गर्नुपर्ने व्यवस्थाका लागि पहिल गरिने छ । संस्थाको वित्तीय अनुशासन पालना गर्न विशेष पहल गरिने छ ।
–अन्त्यमा केही भन्नु छ ?
अन्त्यमा, म के भन्न चाहन्छु भने मान(पद) को लागि माम( व्यवसाय) को बलिदान दिन सकिदैन । निर्माण व्यवसायीहरुले भोग्नुपरेका नीतिगत, ऐन, कानून र नियमावलीहरुका अप्ठ्याराहरु समाधान गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष भएर काम गर्ने अवसर दिनु हुने छ भन्ने विश्वास लिएको छु ।