झापा,पष १७ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको औपचारिक प्रतियोगिताका खेल यो वर्ष जुनदेखि मात्र सुरू हुने भएको छ। नेपालले सन् २०२५ मा आइसिसी विश्वकप लिग–२ अन्तर्गत तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। तीन वटामध्ये दुई सिरिज दोस्रो देशमा हुँदा एक सिरिज नेपालमै आयोजना हुनेछ।
यस्तै सन् २०२५ मै नेपालले आइसिसी विश्वकप क्रिकेट २०२६ अन्तर्गतको एसिया छनोट खेल्ने तय छ। लिग–२ को अघि वा पछि नेपालले सम्बन्धित देशसँग टी–२० सिरिज पनि खेल्नेछ। त्यसैले नेपालले सन् २०२५ मा तीन वटा एकदिवसीय सिरिज र चार वटा टी–२० सिरिज गरी सात सिरिज खेल्ने पक्का छ। त्यसबाहेक अहिलेसम्म नेपालले खेल्ने औपचारिक प्रतियोगिता तय भएका छैनन्। यद्यपी नेपालले दोस्रो देशसँग समन्वयमा एकदिवसीय र टी–२० सिरिज खेल्न सक्नेछ।
सन् २०२५ को पहिलो सिरिजको रुपमा नेपालले विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र स्कटल्यान्डबीच प्रतिसपर्धा गर्नेछ। यो सिरिज मे महिनामा स्कटल्यान्डमा हुने तय थियो। तर क्रिकेट स्कटल्यान्डले सिरिज जुन २ देखि गर्ने तयारी गरेको छ। स्कटल्यान्डमा सिरिज खेलेपछि नेपालले युएईमा लिग–२ को अर्को सिरिज खेल्नेछ। युएईमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन्। यो सिरिज अक्टोबरमा हुने तय छ। यो वर्षको लिग–२ को अन्तिम सिरिज नेपालले घरेलु मैदानमा खेल्ने छ। नोभेम्बरमा नेपालमा हुने लिग–२ खेल्न ओमान र युएई आउनेछन्। अक्टोबरमै आइसिसी टी–२० विश्वकप एसिया छनोट हुनेछ। ओमानमा हुने बताइएको विश्वकप छनोटमा नेपालसहित १० देशले भाग लिनेछन्। १० मध्ये ३ टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० मा छनोट हुनेछन्। अक्टोबरमा लिग–२ को सिरिज र विश्वकप छनोट हुने भएकाले खेल तालिकामा केही हेरफेर भने हुन सक्नेछ।