लक्ष्मी उप्रेती,
झापा । पछिल्लो केही दिनयता चिसो बढेसँगै सरकारी तथा निजी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा विरामीको चाप बढेको छ ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् । चिसोका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बन्दै गएको छ । त्यस्तै अत्यधिक रूपमा बढेको चिसोबाट पशुपालक किसानलाई वस्तुभाउ जोगाउन मुश्किल परेको छ ।

कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्ति र न्यानो कपडा नभएका बनिबुतो गरेर खाने अतिविपन्न परिवारलाई धेरै गाह्रो पारेको पूर्णटुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडका आकस्मिक कक्षमा कार्यरत डाक्टर मनिष उप्रेतीको भनाई छ ।

चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका विरामी बढेको ठाकुर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर बिर्तामोडका वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरले बताए ।

यी समस्याका कारण मानिसहरु उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने गर्दा विरामीको चाप बढेको उनको भनाई छ । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
‘ केही दिनदेखि बढेको चिसोका कारण ५० प्रतिशत विरामी बढेका छन्’डाक्टर ठाकुरले भने, ‘खासगरी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका रोगको सङ्क्रमण देखिएको छ ।’ यसबाट सवैभन्दा बढी बालबालिका र वृद्धवृद्धा पीडित छन् । साथै मधुमह र रक्तचापका विरामीहरुको मात्रा समेत बढेको डाक्टर ठाकुरको भनाई छ ।

प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर विनेश झाले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । झापाका विभिन्न अस्पतालमा पुष लागेसँगै रुघाखोकी, निमोनिया र टाइफाईडका बिरामी बढेका छन् ।

मेचीनगर—६ काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालक दिलिप सुवेदीका अनुसार नवजात शिशुदेखि वृद्धवृद्धामा रुघाखोकी,ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको छ । अहिले दैनिक २५ देखि ३० जना बालबालिका र १५ देखि २० जनासम्म वृद्धवृद्धा उपचारका लागि आफ्नो स्वास्थ्य केन्द्रमा आउने गरेको उनको भनाई छ ।

चिसोका कारण झाडापखाला,ज्वरो, रुघाखोकी, निमोनियालगायत समस्या भएका विरामी आउने गरेको उनले बताए । मेचीनगर नगरपालिकास्थित स्वास्थ्य शाखाका अनुसार आधारभूत अस्पतालसहित ग्रामीण भेगका अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको चाप बढ्दै गएको छ ।

पछिल्लो केही दिनयता चिसो बढेपछि मेचीनगरसहित जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल पातलिएको झापा भद्रपुरका रामप्रसाद पाठकको भनाई छ । चिसो छल्न धेरैले अहिले घर तथा चौक बजारमा आगो तापेर बसिरहेको मेचीनगर—७ भान्सा खोलाका हरिबोल चौधरीले बताए ।

चिसोबाट जोगिन न्यानो कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक स्याँठ चलेका बेला बाहिर ननिस्कन, निस्कँदा पनि शरीरमा हावा पस्न नपाउने गरी कपडा लगाउन, आगो ताप्न, आगो ताप्दा पनि शरीरमा सल्किएर अर्को दुर्घटना हुने भएकाले ख्याल गर्न, झोलिलो र तातो खानेकुरा खान डाक्टर ठाकुरले सुझाव दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्