झापा, पुष १८ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षतामा भएको साधारण सभालाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दैनिक दुई करोड १० लाख लिटर पानी बितरण गर्दै आएको छ । देशकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा चिनिएको संस्थाले तीन वटा ओभरहेड ट्याङ्कीमार्फत आम उपभोक्तालाई सुलभ मूल्यमा दैनिक दुई करोड १० लाख लिटर पानी बितरण गर्दै आएको हो । जसका लागि १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लान्टको प्रयोग गर्दै १० हजार उपभोक्तालाई सहज र सुलभ रुपमा चौबीसै घण्टा पानी बितरण गर्दै आएको संस्थाका अध्यक्ष बास्तोलाले बताए ।
बिर्तामोड क्षेत्रमा तीब्ररुपमा भइरहेको शहरीकरणका कारण खानेपानी सहज रुपमा उपलब्ध गराउन कठिनाई हुन थालेको भन्दै त्यसका लागि थप रणनीति अघि बढाइएको उनको भनाई छ ।साधारण सभामा अध्यक्ष बास्तोलाले संस्थाको भावी योजनाका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उत्कृष्ट जेष्ठ उपभोक्ताहरु जयबहादुर खालिङ राई, देबीमाया आचार्य, उत्कृष्ट कर्मचारी सन्तोष खरेललाई सम्मान गरिएको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख शान्ता रोक्का, सल्लाहकार हर्कलाल गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, विराट भरत बिश्रान्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता बिमली खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए ।