लक्ष्मी उप्रेती,
मेचीनगर । सन् २०२४ मा नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका भएर नेपाली विद्यार्थीसहित ११ हजार ७ सय ५६ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् ।
अध्यागमन कार्यालय काँकरभिटटको अभिलेख अनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म यो नाका भएर अध्ययनका लागि विभिन्न देश गएर फर्केका ५ हजार ६ सय ५५ जना नेपाली विद्यार्थी तथा ४ हजार ९ सय १६ जना भुटानी नागरिक नेपाल आएका छन् । बाँकी १ हजार १ सय ८५ जना अन्य मुलुकका नागरिक रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्नेको संख्या ३ हजार २ सय ९५ जनाले बढेको छ ।
सन् २०२३ मा ५ हजार ३ सय ३६ नेपाली विद्यार्थीसहित ८ हजार ४ सय ६१ जना नेपाल आएका थिए । नेपाली पर्यटन व्यवसायीहरुले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको भएपनि अपेक्षा अनुसार नभएको प्रतिक्रिया दिएका छन् ।
कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो मुलुकका नागरिकहरुलाई भिसा दिन बन्द गरेको थियो । त्यसकारण पनि सन् २०२४ मा अपेक्षा गरेअनुसार पर्यटक नआएको हुन सक्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशले जनाएको छ ।
१ अगष्ट २०२४ देखिमात्र भारतीय पक्षले तेस्रो मुलुकका पर्यटकका लागि नाका खुलाएको थियो । कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञा(आगमन अनुमति) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटन क्षेत्रमा परेको थियो । १ अगष्ट २०२४ सम्म ओभरसिज सिटिजन अफ इण्डिया (प्रवासी भारतीय नागरिक कार्ड भएकाहरु) मात्र भारतीय भूमि भएर पैदलमार्ग हुँदै नेपाल आउने गरेका थिए ।
तेस्रो मुलकका नागरिकका लागि लामो समयसम्म नेपाल प्रवेशको सुदूरपूर्वको काँकरभिट्टा नाका बन्द रह्यो । नेपाल प्रवेशको सुदूरपूर्वको द्वार काँकरभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन चेकपोष्ट रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा नदिएका कारण पूर्वीनाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै थिएन ।
पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बंगलादेशी पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको नाट्टाका कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । कोरोनाका कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानो लयमा फर्किने आशा पलाएको निवर्तमान श्रेष्ठको विश्वास छ ।
नेपालमा पर्यटक आगमन बिस्तारै लयमा फर्किदै गएको बताईएको छ । जसले नेपाली पर्यटनमा आगामी दिन थप सुनौलो हुने देखिने पर्यटनका क्षेत्रमा कलम चलाउँदैं आउने सरोज पौडेलको भनाई छ । पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको भन्दै उनले सरकारले नयाँ पर्यटन नीति तयार गरी चाँडै कार्यान्वयनमा ल्याउनुपर्ने बताए । पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै नाट्टाका कोशी प्रदेश उपाध्यक्ष सजित तामाङले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए ।
विदेशी पर्यटक आगमन बढाउन नेपाल सरकार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि गर्नुपर्ने निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । कोरोनाका कारण सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घटेको पर्यटन व्यवसायी एवम् नाट्टाका कोशी प्रदेश महासचिव नविन (नवराज) खरेलको भनाई छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए । विदेशीले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, गोर्खा, मनकामनालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने गरेको व्यवसायीहरुको भनाई छ ।