झापा, पुष १८ । राजधानी काठमाण्डौमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ ।

तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी घाइते भएका थिए । नर्भिक हस्पिटलको सघन उपचार कक्षमा उपचारका क्रममा आज साँझ निश्चलको निधन भएको भद्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । मृतक भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका एकमात्र छोरा हुन् । उनकी श्रीमतीको भने उपचार भइरहेको जनाइएको छ ।
दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिनअघि मात्रै मूलघर भद्रपुरमा आई फेरि अस्ट्रेलिया फर्कन काठमाडौं गएका थिए। पारिवारिक स्रोतका अनुसार राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्कँदै थिए।
अस्ट्रेलिया जानुपूर्व विदेश जाने तयारीमा बजार गई सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले बाटो काट्दा स्कुटर असन्तुलित भई दुर्घटना भएको थियो ।