
झापा,पुष १९ । ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।
उखु क्रसिङ गरेर नयाँ चिनी बजारमा आउँदा प्रतिकेजी मूल्य ८४ चलेको थियो । साना मिल सञ्चालनमा आएपछि प्रतिकिलो ८४ रुपियाँबाट पनि चिनीको मूल्य तल झरेपछि ठुला मिलले क्रसिङ सुरु गरेका थिए तर ठुला मिलले क्रसिङ सुरु गरेपछि चिनीको मूल्य एक सातामै आठ रुपियाँ प्रतिकेजी वृद्धि भएको विराटनगरका व्यापारी जीवन रिजालले जानकारी दिए ।
उनले भने, “सुरुमा ८६ रुपियाँ प्रतिकेजी खरिद गरेको चिनी अहिले ९१ रुपियाँ पुगेको छ । ठुला उद्योगले उत्पादन सुरु गर्दै कार्टेलिङ सुरु भयो ।”८२ रुपियाँबाट सुरु भएको नयाँ चिनीको मूल्य ९२ रुपियाँसम्म पुग्ने अवस्थालाई सरकारले रोक्नु पर्छ । नेपालको उत्पादनले छ महिनालाई मात्रै पुग्छ, सुरुमै मूल्य बढाएर उद्योगीले उपभोक्तालाई सीमापार बजार पठाउन खोजिरहेका छन् ।” नेपालमा उत्पादन हुने चिनीको मूल्य बढ्यो भने भारतबाट अवैध आयात बढ्ने सम्भावना बढ्छ । उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका रिजालले एक क्विन्टलमा २२५ रुपियाँ मुनाफा राख्न नमिल्ने बताए । उनले भने, “भारतमा अहिले प्रतिकेजी ३८ रुपियाँमा चिनी पाइन्छ । उत्पादन लागत उस्तै हुँदा नेपालमा यति धेरै बढाउन मिल्दैन । भारतमा सस्तो पर्ने भएपछि उपभोक्तादेखि ठुलो परिमाणमा खपत गर्ने उद्योगले चिनीको अवैध पैठारी गर्न सक्ने सम्भावना रहन्छ ।”