झापा, पुष २२ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी गत मंसिर २४ गते पक्राउ परे । पक्राउ परेको दिनदेखि नै उनी बीएण्डसी अस्पतालमै बसे ।

बिर्तामोड प्रहरीले अदालतसंग पाँच पटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गर्दा उनले एकदिन पनि हिरासतमा बस्नु परेन । बीएण्डसी अस्पतालबाटै उनलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो । प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा , सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि उनले हिरासतमा बस्नु परेन ।

यहाँसम्म कि झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिँदासमेत उनले कारागार बस्नु परेको छैन । उनी फेरि पनि बीएण्डसी अस्पतालमै भर्ना भएका छन् । अदालतको पत्र बमोजिम केही मेडिकल चेकजाँच गर्नुपर्ने भनिएकाले अस्पतालमा भर्ना गरिएको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले बताए । चिकित्सकको सल्लाह अनुसार के कति दिन राख्नुपर्ने हो सोही अनुसार अस्पतालमा राखिने उनले जानकारी दिए । शिवाकोटीले आफूलाई गाह्रो भइरहेको बताएपछि कारागारबाट अस्पताल पठाइएको कारागार प्रमुख भट्टराईको भनाई छ । ‘बाँच्न पाउने अधिकारको हामी सबैले सम्मान गर्नु पर्छ’ उनले भने,‘ सँधैको लागि अस्पतालमा राख्न मिल्दैन चिकित्सकको सल्लाह अनुसार अस्पतालमा उपचार गर्न दिन्छौं ।’शिवाकोटीले आफ्नो ढाडको समस्या भएको बताएका छन् ।

सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए ।शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्