झापा, पुष २४ । विस्कुटको प्याकेटभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई युवायुवती मेची पुलमा पक्राउ परेका छन् ।
गएराति ८.३० बजे काँकरभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ स्थाई ठेगाना भई हाल दमक २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरुले झोलामा पतन्जली दुध लेखिएको विस्कुटको प्याकेटभित्र लुकाएर ब्राउनसुगर ल्याएका थिए ।
प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।