झापा,पुष २४ । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्।
कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।
पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्। लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीका अनुसार कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ। दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्। यसअघि पुस १७ गते दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्काशन गरेको थियो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।
इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्