झापा, पुष २५ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ थुम्लिङस्थित एक गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागीमा परी माप्य दुधकोशी गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको हो।
स्थानीय बलबहादुर नेवारको घाँस राख्ने गोठमा गएराति ११.४० बजे आगलागी हुँदा खालिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए । घाँसले भरिएको गोठमा आगो लागेको थियो । राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, प्रहरी नायब उपरीक्षक घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । खालिङ जसकोमा काम गर्यो उसैकोमा खाँदै डुली हिड्ने गरेका थिए ।