झापा,पुष २६ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिम देशगत रूपमा दिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई देशगत समूहमा तालिम दिन निर्देशन दिएको हो ।
आगामी माघ १ गतेदेखि त्यस्ता संस्थाहरूले देशगत रूपमा पूर्व प्रस्थान तालिम प्रदान गर्नुपर्ने भएको हो । विभागले गत पुस ३ गतेदेखि फेसटाइम एटेन्डेन्स एण्ड आइरिस रिकग्निसन सिस्टम लागू गरेको थियो ।
आइरिस सिस्टम लागू भएसँगै विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई देशगत रूपमा तालिम प्रदान गर्न निर्देशन दिएको हो ।
उक्त सिस्टम लागू भएसँगै अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि भौतिक रूपमा नै कक्षामा उपस्थित हुने गरेका छन् । विभागले देशगत क्लस्टर लागू गर्न निर्देशन दिँदै सोही आधारमा पूर्वतयारी गर्न भनेको हो ।
यसअघि क्लस्टर तालिम सञ्चालन अनुमतिप्राप्त संस्थाले माघ १ देखि तोकिएको क्लस्टर अनुसारको तालिम सञ्चालन गर्नुपर्ने भनेको छ । देशगत क्लस्टर सञ्चालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिएपनि छनोट नभएका संस्थाले २८ पुसभित्र आफूले सञ्चालन गर्ने देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि माघ १ देखि नै देशगत तालिम सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ ।
देशगत क्लस्टर तालिम संचालनअनुमति पाएका संस्थाले एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेको अवस्थामा आफूले सञ्चालन गर्न चाहेको पूर्वाधार र प्रशिक्षकको योग्यता खुलाई कम्तीमा ७ दिन अगाडि नै निवेदन दिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्