झापा, पुष २६ । अर्जुनधाराको भूमिसम्बन्धी समस्याका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख देवराज घिमिरेले सरोकारवालाहरुलाई थर्काएका छन् ।
सरोकारवालाहरुले अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कको जग्गालगायतका भूमि समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत समाधान नभएको गुनासो गरेका थिए । भूमिसम्बन्धी अर्जुनधाराका फोकल पर्सन वीरबहादुर राईले यसअघि सभामुख घिमिरेले १५ दिनभित्र केही गर्छु भनी आश्वासन दिएकोमा अहिलेसम्म केही नभएको गुनासो गरेका थिए । उनले ‘हुन्छ बहादुर र भोलि बहादुर’ भन्ने प्रवृत्ति नहटेको बताएका थिए ।
त्यस्तै बिर्तामोड बसपार्कबासीका तर्फबाट सुजन शिवाकोटीले ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन रुपमा आफूहरुको समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
आफूलाई ‘हुन्छ बहादुर र भोलि बहादुर’ भनेकोमा चित्त दुखाउँदै सभामुख घिमिरेले झापाका जिम्मेवार व्यक्तिहरुबाट आएको त्यस किसिमको हल्का टिप्पणीबाट समस्या हल नहुने जवाफ दिए । अहिले चुनावको बेला नभएको भन्दै उनले आक्रोशित हुँदै भने,‘ अहिले चुनाव आएको छ र ? जे पनि भन्दिने ।’ यो तरिका बेठीक भएको भन्दै उनले राजनीतिलाई कमजोर पार्ने कोसिस नगर्न चेतावनीसमेत दिएका छन् ।