झापा , पुष २७ । झापाको मेचीनगरमा भारतीय कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का घाइते छन् ।
गएराति ९ः३० बजे मेचीनगर नगरपालिका वडा न.–१५ भगवती प्लाई फ्याक्ट्रीस्थित ज्यामिरगढीबाट धुलाबारीतर्फ जाने भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको तत्काल नम्बर नखुलेको कारले पैदलयात्री भारतको पश्चिम बंगाल कुचबिहार बस्ने २५ वर्षीय अप्पु राय र सोही ठाउँ बस्ने २० वर्षीय केशव मादकलाई ठक्कर दिएको थियो ।
दुवैजना मेचीनगर नगरपालिका १५ स्थित हिमशिखर फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन् । घाइतेहरुलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी लगिएकोमा उपचारको क्रममा राति ११ः३० बजे अप्पु रायलाई डाक्टरले मृत घोषणा गरेका थिए । केशव मादकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले उक्त कारको खोजतलास गर्नेक्रममा आज बिहान ११.२० बजे भारत पश्चिम बंगाल बागडुग्रा बस्ने अन्दाजी २३ वर्षीय रोशन खत्रीलाई डब्लुबी ७४एजी१२२५ नम्बरको कारसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
मामा मेचीनगर नगरपालिका १० धुलाबारी बस्ने रमेश श्रेष्ठको घरबाट कार चालक खत्रीलाई पक्राउ गरिएको हो भने भारत पानीट्यांकीस्थित न्यू स्पियर ग्यारेजबाट कार नियन्त्रणमा लिइएको हो । ठक्कर दिएर फरार भएका खत्रीले कार पानीट्यांकी लगेर ग्यारेजमा राखेका थिए । मृतकको शव पोष्टमार्टमपश्चात् उनका भाइ दिपक्कर रायले बुझिलगेको डीएसपी चन्दले जानकारी दिए ।