झापा,पष २७ । गत असोज १२ गतेको बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ । सगरमाथा लोकमार्ग अन्तर्गत खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गरी शनिबार उद्घाटन गरिएको हो ।
उक्त बेलिब्रिज कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । एक करोड २९ लाख ४६ हजार ७७ रूपैयाँको डिटेल स्टिमेट लागतमा बोलपत्र आह्वान गरिए पनि एक करोड दुई लाख रूपैयाँमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले ठेक्का लिएको मन्त्री राईले बताए ।
उक्त निर्माण कम्पनीले पुषभित्र सक्ने गरी मंसिर २८ गते सम्झौता गरेको थियो । उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान गरिएको हो । उक्त बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोडेको छ ।