झापा, पुष २७ । नेपालीमा उखान नै छ – जिउँदाको जन्ती मर्दाको मलामी । मरण धनीको होस् या गरिब, सबैका आँखामा आँशु बोकेर आउँछ। एकको मृत्युले धेरैलाई रुवाउँछ। परिवार, आफन्तजन र छरछिमेकलाई दुखाउँछ। शोक परेका बेला सबैले सान्त्वना र सहानुभूति खोजिरहेका हुन्छन् । त्यही दुःखको क्षणमा सभामुख देवराज घिमिरेले साथ दिँदै आएका छन् ।
हरेकको मरिमराउमा समवेदना लिएर उनी पुग्ने गर्छन् । संघीय सांसदसमेत रहेका घिमिरेको समवेदना झापा क्षेत्र नं २ का क्षेत्रका धनी गरिव सबै शोकाकुलको घरमा पुग्ने गरेको छ । कतिपयको घरमा आफै जान्छन् , नभ्याएको घरमा आफ्ना सहयोगीमार्फत् समवेदना पठाइदिन्छन् ।
सभामुख घिमिरेले हालसम्म १ हजार २२२ जनाको परिवारमा समवेदना पुर्याएका छन् । अर्जुनधाराका ४२१ , बिर्तामोडका ४७९ , कन्काईका ७१ , बुद्धशान्तिका २०४ परिवारमा समवेदना पुर्याएको सभामुखका सल्लाहकार हिमाल मैनालीले बताए । उनले २ नं क्षेत्रबाहिर ४७ परिवारलाई समवेदना दिइएको जानकारी दिए । मार्मिकता, हार्दिकता र मानवीयताको उद्धेश्य राखेर सभामुखले २०७९ फागुनदेखि सो अभियान शुरु गरेका हुन् । २०७९ फागुनदेखि २०८० माघ ६ सम्म पहिलो वर्ष ३९५ र दोस्रो वर्ष २०८० माघ ७ देखि २०८१ पुष २० गतेसम्म ७८० परिवारलाई समवेदना दिएको मैनालीले जानकारी दिए ।
आफ्ना क्षेत्रको नागरिकका घरमा मरिमराउ हुँदा पुग्नका लागि सभामुख घिमिरेले सल्लाहकार मैनालीलाई जिम्मेवारी दिएका छन् । सभामुख घिमिरेले आफ्नै निजी खर्च र केही दाताको सहयोगमा समवेदना पत्र तयार गरी दिने गरेको बताइएको छ । मानवीय हिसावले सभामुखले यो अभियान संचालन गरेपनि विपक्षी राजनीतिक दलका कार्यकर्ताहरुले समवेदनाको नाममा राजनीतिक अभियान भएको भनेर टिप्पणी गर्ने गरेका छन् । यो र त्यो नभनी हरेक पार्टी , हरेक जाति र हरेक वर्गका मानिसको घरमा मरिमराउ हुँदा जाने संस्कार अनुसार नै सभामुखले यो अभियान चलाएको मैनालीको भनाई छ ।