लक्ष्मी उप्रेती
धुलावारी । द गोर्खा मेमोरियल फण्ड बेलायतले झापाको मेचीनगर –१० स्थित धुलावारी माध्यमिक विद्यालयलाई नयाँ प्रविधिमैत्री कम्प्यूटर कक्षा हस्तान्तरण गरेको गरेको छ ।

द गोर्खा मेमोरियल फाउण्डेसन नेपालको संयोजनमा द गोर्खा मेमोरियल फाउण्डेसन बेलायतले ३२ लाख २० हजार रूपैयाँ मूल्य बराबरका ३१ वटा कम्प्युटर, टेबल र कार्पेट विछ्याइएको कम्प्यूटर कक्षा हस्तान्तरण गरेको हो ।
हस्तान्तरणलगत्तै आइतबार मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतले उद्घाटन गरेका छन् । धुलाबारी माविमा तीन हजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । नौ सयजना विद्यार्थी कम्प्युटर विषयका छन् ।
यसअघि द गोर्खा मेमोरियल फण्ड बेलायतले काँकरभिट्टा माध्यमिक विद्यालयलाई अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको स्थापना गरी २८ लाख रुपैयाँ मूल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान गरेको थियो । काँकरभिट्टा माविमा २ वर्षसम्म प्राविधिक सहयोग उपलब्ध गराउने घोषणासहित आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको नामकरण गरिएको थियो ।

दुई वर्षको अनवरत क्रियाशीलताका कारण धुलावारी माविबाट एसएलसी उत्तीर्ण पूर्व विद्यार्थी द गोर्खा मेमोरियल फाउण्डेसन बेलायतका अध्यक्ष, फोक्सटन सिटीका पहिलो नेपाली पूर्व काउन्सिलर धनकिरण गुरूङको पहलमा ती सामग्री धुलावारी माविले प्राप्त गरेको हो । मेचीनगर नगरपालिकाका तर्फबाट १८ नोभेम्वर २००६ मा वेलायतको फोक्सटन सिटीलाई भगिनी सम्बन्ध स्थापनाका लागि अनुरोध गरिएको थियो । नेपालको अनुरोधलाई स्वीकार्दै ११ अप्रिल र २३ सेप्टेम्वर २००८ मा मेचीनगर नगरपालिकालाई भगिनी सम्बन्धका लागि दोहोरो पत्राचार भएको थियो । तत्कालीन स्थानीय विकास मन्त्रालयबाट २०६४ साल कात्तिक २१ गते भगिनी सम्बन्धका लागि स्वीकृति प्राप्त भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख बुढाथोकीले द गोर्खा मेमोरियल फण्ड बेलायतले प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले धुलावारी माविलाई हस्तान्तरण गरेको उक्त कार्यको प्रशंसा गरे ।
विशिष्ट अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती बेलायतले यसभन्दा अघि निकै सहयोग गरेको स्मरण गरिन् ।
गोर्खा मेमोरियल फण्ड युकेका संस्थापक अध्यक्ष धनकिरण गुरूङले पढेर निकै ज्ञान आर्जन गरेर आफू यहाँसम्म पुगेको बताउँदैं आफूले पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको धारणा राखे । दुई वर्षअघिको सपना आज पुरा भएको उनको भनाई छ ।
कार्यक्रममा प्रोजेक्ट कोर्डिनेटर ट्रस्टी रे जोन्सनले आफू अहिलेसम्म दुई पटक नेपाल आएको बताउँदैं सामाजिक सेवाका लागि कुनै पर्खाल र सीमाले नछेक्ने धारणा राखे । कार्यक्रममा गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष गंगालाल गुरुङलगायतले बोलेका थिए भने प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रमको औचित्यमाथि विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रकाश चौलागाईँले प्रकाश पारेका थिए । शिक्षक रमेश दाहालले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी इमिशा फिया्कले शब्दमार्फत स्वागत गरेकी थिइन् । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, देवकी राजवंशीले आफ्नो जातीय कला, संस्कृति र भेषभुषा झल्किने राजवंशी नृत्य तथा अन्य विद्यार्थीले साकेला नृत्य प्रस्तुत गरेका थिए ।