झापा,माघ १ । माघे संक्रान्तिको अवसरमा लागेको कन्काई माई मेला जुवाको अखडा बनेको छ ।

कन्काई नदी पूर्व कोटीहोम र पश्चिमपट्टि माइधारमा तीन दिन अघिदेखि लागेको माई मेलामा जुवा र जुवाजन्य खेल खेलाउने गरिएको हो । जुवा र जुवाजन्य खेल खेलाउनकै लागि मेला लगाउने आयोजक समितिको उद्धेश्य देखिएको छ । मेलामा जुवा तास , डाइस , सिक्सरलगायतका अवैध खेल खेलाउने गरेको पाइएको हो ।

खुलेआम रुपमा जुवा खेलाउने गरेपछि प्रहरीले गएराति जुवाको अखडामा छापा मारेको थियो । राति जुवा र जुवाजन्य खेलहरु बन्द गराइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापा मगरले बताए । उनले मेलाको नाममा अवैध खेल खेलाउन नमिल्ने भन्दै त्यस्ता खेल नखेल्न भनिएको जानकारी दिए ।

शिवसताक्षी– १० माइधारमा त्यहाँका वडाध्यक्ष हर्कबहादुर सिगुकै अगुवाईमा वडा कार्यालयले मेला आयोजना गरेको हो । वडाध्यक्ष सिगु नै जुवा खेलाउन पाउनु पर्छ भन्ने पक्षमा रहेको बताइएको छ । जुवाबिना मेला नलाग्ने र मेलामा आम्दानी पनि नहुने आयोजक समितिको तर्क छ । प्रायः सबैजनाको भनाई जुवाजन्य खेल खेलाउन पाउनु पर्छ भन्ने रहेको एक प्रहरी अधिकृतले बताए ।

राति नै कन्काईपूर्व कोटीहोममा लागेको मेलामा पनि प्रहरीले जुवाजन्य खेल बन्द गराएको छ । राति १ बजेसम्म खटिएर त्यहाँका जुवाजन्य खेल बन्द गराइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । कोटीहोममा कन्काई धार्मिक माई मेला समितिले मेला लगाएको हो । जुवा र जुवाजन्य खेल खेलाउनका लागि कन्काईमा ७ दिने मेला लगाइएको हो ।

जुवा खेल्न दिनु पर्यो भनेर उपल्लो निकायबाट फोन गर्न लगाएको नाम उल्लेख नगर्ने शर्तमा ती प्रहरी अधिकृतले भने । मेला भनेको जुवा र जुवाजन्य खेल खेलाउने ठाउँ भन्ने मानसिकता भेटिएको उनको भनाई छ । गत पुष २७ गते शनिवार उद्घाटन गरिएको मेला माघ ३ गतेसम्म लाग्नेछ ।यस किसिमका विकृतिका कारण मकर स्नान गर्न आउने कन्काई धार्मिक मेलाको महत्व घट्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्