झापा, माघ २ । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ । हालै बसेको मन्त्रीपरिषद्को बैठकले चालु आवका लागि गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपियाँ बढी गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । गत आव २०८०÷८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९÷८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपियाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ । गहुँको समर्थन मूल्य बढ्दा किसानलाई राहत हुने गर्छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकोमा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७९÷८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८÷७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

यसैबिच नेपालले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । भारत–नेपाल अन्तरसरकारी समिति (आइजिसी) को बैठकमा भारतीय पक्षले नेपालको अनुरोध स्वीकृत भएको जानकारी गराएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेको थियो । मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडका अनुसार गहुँ अभावले गर्दा मैदा मिल पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।

मुलुकभर ३८ वटा मैदा मिल रहेका छन् । मिल सञ्चालनका लागि वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकोमा आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा नहुँदा नियमित रूपमा मिन सञ्चालन हुन नसकेको उनको भनाइ छ । भारतले दिने भनेको दुई लाख मेट्रिक टन गहुँ आएपछि मिल सञ्चालन सहज हुने उनको भनाइ छ ।

धान र मकै पछिको तेस्रो प्रमुख बालीका रूपमा गहुँ रहेको छ । मैदा मिललाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ । गहुँबाट बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी नानलगायतका परिकार बन्ने गर्छन् । गहुँबाट क्यालोरी र प्रोटिन पाइन्छ । नेपालमा गहुँको औसत प्रतिहेक्टर २.९९ मेट्रिक टन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्