बिर्तामोड, माघ २ । बिर्तामोड नगर अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ ।
२४ घण्टे प्रसूति (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो ।
बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए । उनका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य बीमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ ।
नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडी सेवा दैनिक उपलव्ध छ । यसैगरी २४ सै घण्टा नर्मल डेलीभरी सेवा, स्वास्थ्य विमा सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था छ ।
२४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
हाल १५ शैय्याको नगर अस्पताललाई स्तरोन्नतिको लागि भवन निर्माणको काम धमाधम भइरहेको छ । १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा भवन निर्माणको काम भइरहेको हो । भवन निर्माण सम्पन्न भएपछि नगर अस्पताल २५ शैय्याको हुनेछ ।