झापा, माघ ३ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले देशभरका पुस्तक तथा स्टेशनरी व्यवसायी एकजुट हुनुपर्ने बताएका छन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशको छैठौं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष शिवाकोटीले भने, ‘युगौँ युगसम्म पुस्तक तथा स्टेशनरीको व्यवसाय र व्यवसायी टिकिराख्ने हो भने देशभरका व्यवसायी एकजुट हुनुको विकल्प छैन।’

पुस्तक र स्टेशनरी व्यवसायलाई तीन तहकै सरकारले शैक्षिक र सांस्कृतिक हिसावमा महत्वपूर्ण स्थान दिनुपर्ने उनले बताए । सरकारका हरेक शैक्षिक गतिविधिमा पुस्तक व्यवसायीलाई पनि सहभागी गराउनु पर्ने उनको जोड थियो ।

सरकारी तथा निजी प्रकाशन गृहका पाठ्यपुस्तक बिक्री वितरणका क्रममा भएका असमानतालाई निरुत्साहित गर्न मुलुकभरका पुस्तक व्यवसायी एकजुट हुनुको उनले औचित्यसमेत पुष्टि गरे। सरकारले पुस्तक बिक्रीका लागि व्यवसायीलाई दिएको छुटको दायरा फराकिलो बनाउनु पर्ने उनको तर्क छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरूले दिने कर्जाको व्याजमा अन्य व्यवसायीको तुलनामा छुट गर्नुपर्ने उनले बताए । राज्यका तीनवटै तहका सरकारलाई इमान्दारपूर्वक कर बुझाउने पुस्तक तथा स्टेशनरी व्यवसायीलाई सरकारले प्रोत्साहन दिने कार्यक्रमहरू ल्याउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष विनोद सापकोटाले महासंघका हालसम्मका उपलब्धीहरू र आगामी योजनाबारे जानकारी गराएका थिए । उनले भने, ‘सम्भावना र चुनौतीहरूको बीचमा हामी छौ । हामी एकतामा रहन र व्यवसायलाई प्रगति दिने दिशामा अघि बढ्नका लागि पहिला व्यवसायी इमान्दार हुनुपर्ने पर्छ ।’पुस्तक र स्टेशनरी व्यवसायको समृद्धिका लागि आवश्यक सुधार, नीति, व्यवसायिक तालिमहरू केन्द्र र प्रदेशले संचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश अध्यक्ष जीवन नेपालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन साधारण सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको छ। उनले प्रदेशका १४ जिल्लामध्ये ५ जिल्लाको सांगठनिक प्रतिवेदन र प्रदेश समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

यस्तै कोषाध्यक्ष गौतम शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ। उनले १२ लाख ११ हजार ३३० रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रदेशको दोस्रो अधिवेशनका क्रममा विभिन्न प्रकाशन गृहहरूले कबोल गरेको ५ लाख रूपैयाँ भुक्तान गर्न साधारण सभाको बन्दसत्रले सम्बन्धित प्रकाशन गृहलाई अपिल गरेको छ। अधिकांश प्रतिनिधिले भने, ‘यति र उति पैसा दिन्छु भनेर खादा, माला र सम्मानपत्रद्वारा सम्मानित हुने प्रकाशन गृह वा त्यसका प्रतिनिधिले कबोल गरेको रकम भुक्तान गरिदिनु होस् ।’

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले स्वागत गरेको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य राजेन्द्र तिवारी, दुर्गा पौडेल, प्रदेशका सल्लाहकार समिति सदस्य फडिन्द्रराज न्यौपाने, उदयपुर जिल्लाका अध्यक्ष एकराज बस्नेत, सुनसरीका सचिव भीम घिमिरेले व्यवसायीहरूको विद्यमान समस्या र चुनौतीका विषयमा केन्द्रीय पदाधिकारी तथा प्रदेश कमिटीलाई जानकारी गराएका थिए ।

प्रदेश सचिव दिवाकर भट्टराईले सञ्चालन गरेको कार्यक्रम प्रदेश अध्यक्ष जीवन नेपालको अध्यक्षतामा बिर्तामोडस्थित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको सभाहलमा भएको थियो । साधारण सभामा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलाम, पाँचथरका व्यवसायी प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्