
झापा,माघ ७ । सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
त्यसैले सोमबार मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।
यसबारेमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको थियो। संसदको हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरेको स्रोतको भनाइ छ।
‘सरकारले माघ १८ गतेदेखि हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले सभामुखसँगको परामर्शमा कानुन निर्माणमा संसद केन्द्रित हुनुपर्ने कुरा राख्नुभएको छ।’
संसदमा भाषण बढी र कानुन निर्माण गर्ने मुख्य काम कम हुने गरेको प्रधानमन्त्रीको भनाइ थियो।