झापा,माघ ८ । रोटरी क्लब अफ बिर्तामोडले सेवा कार्यअन्तर्गत शिवसताक्षी –३ कमलधापस्थित शान्ति आधारभूत विद्यालयमा आर.ओ. फिल्टरसहित अत्याधुनिक प्रविधिको शुद्ध पिउने पानी परियोजना हस्तान्तरण गरेको छ। सोही कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी भवानीशंकर मिण्डा र सन्तोषदेवी मिण्डाले अल्पायुमा आकस्मिक स्वर्गारोहण भएका आफ्ना कान्छा छोरा हेमन्तकुमार मिण्डा ( गोल्डी) को स्मृतिमा अत्याधुनिक पानी फिल्टर मेसिन जडान गरी रोटरी क्लब अफ बिर्तामोडमार्फत खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरेको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले जानकारी गराएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं ३ का अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आतिथ्य र समाजसेवी,गौभक्त जगदीशप्रसाद मिण्डाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका सबै विद्यार्थीहरुलाई डोम्स कम्पनीद्वारा उत्पादित र नेपालका सुपर वितरक पायोनियर मार्केटिङ प्रालिबाट सौजन्यस्वरूप प्राप्त स्टेशनरी सामानहरू वितरण गरिएको कार्यक्रमका संयोजक दुर्गा थपलियाले बताए ।

कार्यक्रममा खानेपानी परियोजना निर्माणकर्ता मिण्डा परिवार,रोटरी क्लब अफ बिर्तामोड र समन्वयकर्ता भवानी शिवाकोटीलाई विद्यालयद्वारा सम्मान गरिएको थियो।

विद्यालयको मुख्य प्रवेशद्वार र कम्पाउन्ड वाल जीर्ण भइसकेकोले अशोक धानुकाले रंगरोकन सामग्रीहरू निःशुल्क प्रदान गरेको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष न्यौपानेले शिलालेख अनावरण गरी धाराको पानी खाएर परियोजना उद्घाटन गरेका थिए।


प्रधान अध्यापक विष्णुप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुरेश वंशल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमप्रसाद भारती ,रोटरी अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ , वडा अध्यक्ष भाष्कर न्यौपानेलगायतले शुभकामना र धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका पास्ट प्रेसिडेन्ट सुरेश वंशल,प्रेसिडेन्ट नोमिनी दिपक गिरी, शैलेन्द्र कुरुम्बाङ, अशोक धानुका,दुर्गा थपलिया ,डोम्स प्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरु,जग्गादाताहरु, स्थानीय व्यक्तिहरु र जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन शिक्षिका तारादेवी बास्तोलाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्