झापा,माघ ८ । खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।
केन्द्रले सोमबार र मङ्गलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताए । मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा. पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडावडामा आँखा जाँच गरेर मोतियाविन्दु लागेका बिरामीको पहिचान गरी उनीहरूलाई निःशुल्क उपचार गरिएको प्रमुख बरालले बताए । शिविरमा दुई सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजकले जनाएको छ ।