झापा, माघ ८ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजनाको निर्माण आजबाट सुरु भएको छ ।
हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन् ।
केबलकार निर्माण गर्ने कार्यको थालनी गर्न स्काभेटरले फाउन्डेसन तयार गर्न लागेकोमा बिहान ९ः५५ बजे उक्त स्काभेटरको हाईड्रोलिक पम्पमा समस्या आई काम स्थगित भएको थियो । आवश्यक सामानहरु झिकाएर स्काभेटर मर्मतपश्चात् दिउँसो ४ बजेदेखि पुनः काम सुचारु भएको जनाइएको छ ।
जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय जनप्रतिनिधि,स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए ।केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताउँदै केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताए ।
पौडेलले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाएका छन् । यो केबलकारले अशक्त, बृद्धबृद्धा तथा बालबालिकालगायतका भक्तजनलाई पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।
यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाखसम्म पुग्ने विश्वास कम्पनीले लिएको छ ।