झापा, माघ ८ ।झापा जिल्ला विपद्को उच्च जोखिममा रहेको भन्दै सरोकारवालाहरुले कोशी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

कोशीका १४ वटै जिल्लामा एकीकृत विपद् प्रतिकार्य योजना संचालन गर्न झापाका प्रकोप जोखिम क्षेत्रहरुको विद्युतीय नक्सांकन तथा प्रदेश विपद् पाश्र्वचित्र निर्माणसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन् । मंगलवार बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका पालिका प्रमुख , संघ संस्था र कार्यालयका प्रमुखहरुले जिल्लामा भइरहेका प्रकोप र प्रकोप जोखिम क्षेत्रहरुको बारेमा अवगत गराएका थिए । हात्ती–मानव द्वन्द्व , बाढी ,भूकम्प , नदी कटान , भूक्षय , आगलागीजस्ता प्रकोपका बारेमा उनीहरुले जानकारी दिएका थिए ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रकोपको जोखिम कम गर्न कोशी प्रदेशका १४ वटै जिल्लामा प्रभावकारी योजना बनाई एकीकृत रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल भएको थियो । त्यसका लागि प्रकोप जोखिम क्षेत्रहरुको विद्युतीय नक्सांकन तथा प्रदेश विपद् पाश्र्वचित्र निर्माण कार्य शुरु गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदाखेरि नै हिक्मतकुमार कार्कीले करिव ३ वर्षअघि सो योजना शुरुवात गरेका थिए । त्यस योजना कार्यान्वयन गर्नेक्रममा मंगलवार झापाका पालिका प्रमुख , पालिकाका आइटी कर्मचारी , सुरक्षा निकायका प्रमुख , सरोकारवाला संघ संस्था र कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विज्ञहरुले कोशी प्रदेशमा विपद् व्यवस्थापनको वस्तुस्थितिका बारेमा जानकारी दिएका थिए । त्यसप्रति मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईलगायतले जिल्लामा प्रकोपको जोखिमबारे जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफूहरु एकीकृत विपद् प्रतिकार्य योजना कार्यान्वयनको नजिक पुगेको बताए । उनले पहाडी क्षेत्रमा नयाँ संरचना निर्माण गर्दा हुनसक्ने दश गुणा जोखिमलाई सोच्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल , आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कमलबहादुर थापा , बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल , मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती , अर्जुनधारा नगरपालिकाका नगर उपप्रमुख खड्गमाया पराजुली, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरक्षा निकायका प्रमुखहरु , विभिन्न कार्यालय र संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

एकीकृत विपद् व्यवस्थापन केन्द्रबाट सहयोग पुग्ने

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा अर्जुनधारामा निर्माण भइरहेको एकीकृत विपद् व्यवस्थापन केन्द्रबाट ठूलो सहयोग पुग्ने कार्यक्रममा बताइएको थियो । अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ ।स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीनवटा साना वाहन रहने जनाइएको छ ।
वाहन मर्मत गर्ने ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, प्रहरी, कामदार र कर्मचारी बस्ने आवास, हेलिप्याड, प्रशासनिक भवनलगायत पूर्वाधार निर्माण भइरहेको छ ।

परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, स्वीट्जरल्याण्ड सरकारको २० प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत र अन्य तीनवटा नगरपालिकाको २४ प्रतिशत लगानी रहेको छ । २०८० मंसिरमा सुरु गरिएको उक्त परियोजना दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्