झापा,माघ ९ । सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । दुई महिनामा प्रतिबोरा तीन सय रुपियाँसम्म मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्ता र विकास निर्माणको काममा परेको छ । सिमेन्ट उद्योगीले मनपरी सिमेन्टको मूल्य बढाएको गुनासो निर्माण व्यवसायीको छ । निर्माण व्यवसायी महासङ्घका अनुसार सिमेन्ट उद्योगीहरूको मिलेमतोमा मूल्यवृद्धि गराइएको हो । महासङ्घका अध्यक्ष रवि सिंहले उद्योगीले सिमेन्टमा कार्टेलिङ गरेर मूल्य बढाएको बताए । दुई महिनाअघि पाँच सय रुपियाँ पर्ने प्रतिबोरा सिमेन्टको फ्याक्ट्री मूल्य बढेर ७५० देखि आठ सय रुपियाँसम्म पुगेको उनको आरोप छ । सिमेन्टको मूल्य बढ्दा विकास निर्माण व्यवसायीलाई प्रत्यक्ष असर परेको र सिमेन्टको मूल्यवृद्धिका कारण निर्माणको काममा १५ प्रतिशत लागत महँगो पर्न गएको उनको भनाइ छ । निरन्तर बढेको सिमेन्टको मूल्यले विकास निर्माणको काममा लागत महँगो भएकाले मूल्यवृद्धि फिर्ता लिन १५ दिनको अल्टिमेटम दिएको उनले जानकारी दिए । यही भएर महासङ्घले मूल्यवृद्धिबारे छलफल गरी निर्णय गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा उजुरी गरेको थियो । सोही उजुरीका आधारमा बसेको समितिको बैठकले सांसद सञ्जय गौतमको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको छ । समितिका सभापति ऋषिकेश पोखरेलले सिमेन्टको मूल्यवृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्