कहिलेकाहीँ जीवनमा यस्तो खुसीको पल आइदिन्छ,जुन खुसीले बितेका समयको निराशाको धब्बाहरुलाई सर्लक्क मेटाइदिन्छ। अप्ठ्यारा र असजिला अवरोधहरूलाई निस्तेज बनाएको महसुस हुन्छ। व्यक्ति विशेष वा सानो घेरामा खुम्चिएको समूह विशेषका स्वार्थ केन्द्रित असफल प्रयासहरुलाई कुल्चिएर गन्तव्य केन्द्रित आफ्नो यात्रालाई मार्ग प्रशस्त गरिदिन्छ ।
अझ त्यसमाथि त्यो उल्लासमय क्षणको श्रेय आफ्ना सहयात्रीहरूमा बाँड्न पाइयोस् – त्यसको आनन्द र सन्तुष्टिको उचाई साँच्चै सोचेभन्दा निकै माथि देखिन्छ ।

भारतको सिक्किम सरकारले आयोजना गरेको दशौँ चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल झापा ११ फुटबल क्लबका खेलाडी यसबेला जति खुसी छन्, त्यो भन्दा धेरै हर्षित छन् क्लबका अध्यक्ष जलकुमार गुरुङ ।

पूर्वेली टाइगर नामले समेत चिनिने झापा ११ फुटबल क्लब स्थापनाको एक दशकभित्रै दर्जनौं उपाधिले सुसज्जित भइरहँदा क्लबका संस्थापक गुरुङ यिनै खुसीका क्षणहरुलाई खेलप्रेमीमाझ सँगालेर नेपाली फुटबलको उन्नयनका लागि अझै गतिशील बन्ने योजनामा छन् । क्लब स्थापनाकै वर्ष सन् २०१४ मा एन्फा कप विजेता भनेको झापा ११ फुटबल क्लबले सन् २०१५ मा नेपाल नेशनल लिगमा सहभागिता जनाउन पुग्यो।

समग्र फुटबलको विकासका लागि फुटबलरको क्षमता अभिवृद्धि अनिवार्य छ। राजधानी केन्द्रित क्लब र प्रतियोगिताहरूको दबदबाका बीच गाउँका खेलाडी र क्लब सशक्त बनाउने विषय चानचुने पक्कै थिएन । पैसा र पूर्वाधार दुवैको सीमितताभित्र आफ्नो टिमलाई दर्बिलो बनाउँदै प्रतिस्पर्धी क्लबहरूको चुनौती सामना गर्ने ल्याकत निर्माणका लागि जलकुमार गुरुङको मेहनत र निरन्तरता साँच्चै अनुकरणीय छ, उदाहरणीय छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालालाई होम ग्राउन्ड बनाएर क्लब र खेलाडीहरूको स्तर वृद्धिमा अहोरात्र खटिएका अध्यक्ष गुरुङ सँधैंभरि सकारात्मक सोचबाट निर्देशित देखिन्छन् । खेल जित्नु या हार्नु महत्वको कुरा होइन – जति महत्व त्यो खेलले खेलाडी र क्लबहरुबीचको आपसी सौहार्दतालाई बढाइरहेको हुन्छ।

खेलाडीको क्षमता अभिवृद्धिसँगै झापालाई नेपाली फुटबलको मूलधारसँग जोड्न गुरुङकै परिकल्पनामा झापा गोल्डकपको प्रारम्भ भयो। त्यो प्रतियोगिताले क्लबलाई विजेताको उपाधि दिलाउन त सकेको छैन तर फुटबलप्रेमीहरूको हृदयमा प्यारो क्लबका रुपमा झापा ११ फुटबल क्लब आजका दिनसम्म बसिरहेको छ।

झापा गोल्डकपको सन् २०१६,०१७, ०१८ र ०१९ को संस्करणमा उपविजेता बनेको लोकप्रिय क्लब झापा ११ फुटबल क्लब विराट गोल्ड कप २०१५ को उपाधि चुम्न भने सफल भएको छ । रेडबुल राष्ट्रिय लिग ए डिभिजन क्लबहरूबीचको सहभागितामा भएको प्रतियोगितामा उत्कृष्ट क्लब दर्ज भएको झापा ११ ले माइभ्याली गोल्डकप, कटारी गोल्डकपसहित भीमनारायण गोल्डकप र मानेभञ्ज्याङ गोल्डकप दार्जिलिङ जस्ता साना – ठुला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयको ताज पहिरिसकेको छ
खेलकौशल, अनुशासन र राजधानीका सम्पन्न भनिएका पुराना क्लबहरूसँग सशक्त प्रतिस्पर्धा गर्ने तागतकै कारण आज झापा ११ एफसी नेपाल र नेपाल बाहिर पनि लाखौं शुभेच्छुक कमाउन सफल भएको छ ।

सन् २०१६ मा सिक्किम गभर्नर्स गोल्डकपको उपविजेता बनेको यो क्लब यसपटक दशौं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप २०२५ को उपाधि लिएर स्वदेश फर्किएको छ।२० लाख भारतीय रुपैयाँ राशिको यो उपाधिसँगै झापा ११ ले च्याम्पियन्सहरूको बीचमा आफूलाई पूर्वेली टाइगर प्रमाणित गरेको छ।नेपालको सहिद स्मारक लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको फाइनल भिडन्तमा आफूलाई शक्तिशाली साबित गरेको छ यसपटक झापाले।

त्यसबाहेक भारतकै दिल्ली , दार्जिलिङसहितका विभिन्न सहरका क्लबहरू र भुटानको प्रतिष्ठित क्लबलाई समेत पछि पार्दै मित्रराष्ट्रको नाम्ची जोर्थाङ रंगशालामा झापा ११ ले यो उपाधि हात पारिरहँदा सिङ्गो झापा र झापा ११ फुटबल क्लबका शुभेच्छुकले गौरव महसुस गरिरहेका छन् । सिक्किमको मात्र नभएर भारतकै प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधिले झापा ११ फुटबल क्लबको खेल यात्रालाई सुदूर भविष्यसम्म जीवन्त बनाउन थप सौर्य प्रदान गरेको अनुभूति नेपाली फुटबलप्रेमीहरुले गरिरहेका हुन् ।

यो गौरवमय क्षणमा खुसी साटिरहेका क्लबका अध्यक्ष गुरुङ आफ्ना खेलाडीप्रति आभारी छन्, क्लबका पदाधिकारीहरूप्रति कृतज्ञ छन् अनि शुभेच्छुक र शुभचिन्तकप्रति नतमस्तक छन्।

फुटबल र समग्र खेलकुद प्रतियोगिताले उपाधि मात्रै जित्ने होइन, यसले समाजलाई जिताउँछ ,राष्ट्रलाई जिताउँछ अनि शक्तिशाली भनिएका मुलुकको खेलमैदानमा नेपालको राष्ट्रिय झण्डालाई सबैभन्दा अग्लो बनाएर फहराइदिन्छ।

मोफसलमा फुटबल प्रतियोगितालाई चलायमान बनाउँदै खेलाडीको वृत्ति विकासको अवसरको खोजी गरी युवा खेलाडीको उत्पादन, खेल पर्यटनको प्रवर्द्धनसँगै नेपाली राष्ट्रिय फुटबलको श्रीवृद्धिका लागि योगदान दिने लक्ष्य र उद्देश्य लिएको झापाको गहना झापा ११ फुटबल क्लबको आगामी दिनहरु यस्तै सफलताका बिन्दुहरुबाट सुसज्जित बन्दै जान सकून् , फेरि पनि शुभेच्छा , शुभकामना ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्