बिर्तामोड, माघ १२ । बिर्तामोड नगरपालिका वडा नं. १० सैनिकबजारमा तेस्रो पटक सैनिक महोत्सव आयोजना गरिने भएको छ ।

बिर्तामोड १० को पहिचानको रुपमा रहेको सैनिक महोत्सव लगाउनेबारे हिजो पहिलो चरणको छलफल भएको छ । व्यवस्थित रुपमा मेला सञ्चालनका लागि सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा छविराम आचार्य, सचिवमा खुबराज भट्टराई, सहसचिवमा लक्ष्मी देवान र कोषाध्यक्षमा गायत्रा श्रेष्ठ रहेका छन् । समितिको सदस्यहरुमा भोलानाथ पाण्डे, खड्कबहादुर गुरुङ, देकमान लोक्ताम, बिमानप्रसाद राई, देवीकुमारी लिम्बू, सावित्रा राजवंशी, तारा आपागाँई र देवेन्द्र दर्नाल रहेका छन् ।

वडा कार्यालयको सभाहलमा आयोजित वडा नं १० का टोल समिति , राजनीतिक दल , विभिन्न संघ संस्थाका प्रतिनिधि, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरु, वडाका पूर्व जनप्रतिनिधि र स्थानीयको भेलाले मूल समिति गठन गरेको हो । आगामी फागुन ७ गतेदेखि महोत्सव शुरु हुने बताइएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको भेलालाई वडा सदस्य पृथ्वीबहादुर बस्नेतले सञ्चालन गरेका थिए भने वडा सदस्य दिपिका शिवाले गरेकी थिइन् ।

महोत्सव आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै वडाध्यक्ष गुरुङले महोत्सवलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । पहिचानको रुपमा रहेको महोत्सवका बारेमा फैलाइएको केही भ्रमलाई अघिल्ला दुई महोत्सवले चिरेको भएपनि मर्यादित र व्यवस्थित रुपमा मेला सञ्चालनका लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा २०७५ सालमा पहिलो पटक सैनिक महोत्सव सञ्चालन भएको थियो । त्यस्तै कोरोना संक्रमण शुरु हुनुअगाडि दोस्रो पटक सैनिक महोत्सव संचालन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्