झापा, माघ १२ । माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वती पूजाका लागि बजारमा सरस्वतीको मूर्ति निर्माण गर्न कालिगडलाई भ्याइनभ्याइ हुन थालेको छ । श्रीपञ्चमी नजिकिएसँगै सुनसरीका कालिगड दिनरात मूर्ति निर्माण गर्न लागिपरेका छन् ।
सुनसरीको सदरमुकाम इनरुवा–२ मा ‘विनोद आटर््स एन्ड मूर्ति कारखाना’ मा एक दशकदेखि मूर्ति बनाउँदै आएका विनोदकुमार यादव बिहान उठेदेखि राति अबेरसम्म मूर्तिकै काममा व्यस्त हुन्छन् । १२ कक्षासम्म पढेका यादवले मूर्ति बेच्ने काम गरेर वार्षिक छदेखि सात लाख रुपियाँ कमाउँदै आएको छ । विनोदले माग अनुसारका मूर्ति बनाउनेदेखि लक्ष्मी, दुर्गा, सरस्वती, विश्वकर्मा बाबा, कृष्णाष्टमी, जितमा र छटीमाईको मूर्ति बिक्रीबाट राम्रो आम्दनी गर्दै आएको बताएका छन् । उनले यस वर्षको सरस्वती पूजाका लागि एक सय वटा सरस्वती माताको मूर्ति बनाएर तयार पारिसकेका छन् । मूर्तिको माग बढ्दै जाँदा थप अरू मूर्ति बनाउने काममा लागेको यादवले बताए । उनले एक जनाले मात्र भ्याइनभ्याइ हुने भएकाले थप दुई सहयोगी लिएर काम गर्दै आएका छन् । उनले भने, “विद्याकी देवी सरस्वतीको पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने हुँदा यस वर्ष माघ २१ गते परेको वसन्तपञ्चमी नजिकिँदै जाँदा माग पनि बढ्दै गएको छ । ११ वर्षको उमेरदेखि नै बुवासँगै सिकेको यही पेसाले हाम्रो परिवार चलेको छ ।”रातो लिसाइलो माटो, पराल, बाँस, गहुँको भुस, धानको भुस, सनपाट, डोरीको र रङको संयोजन गरेर मूर्ति बनाउँदै आएका विनोदलाई एउटा मूर्ति बनाउन दुई दिन लाग्ने गरेको बताउछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्