
झापा,माघ १२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शीतलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरूमा भइरहेको शीतलहर र हिमाली जिल्लाहरूमा भइरहेको अत्यधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरूमा शीतलहर र हिमाली जिल्लाहरूमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए । हिमपात र शीतलहरका कारण चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रहेको उनको भनाई छ ।
उनले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताए । शीतलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए ।
उनले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरूमा परिपत्र गरिसकेको जिकिर गरे । महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्यानो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको उनको भनाई छ । ।
विगत केही दिनदेखि कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु÷कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीत लहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।