पोखरा, माघ १२ । देशभरका जिल्लामध्ये झापा जिल्ला उत्कृष्ट जिल्लाको रुपमा सम्मानित भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारण सभाको अवसरमा गत आर्थिक वर्षको कार्यसम्पादन, मूल्याङ्कन, संगठन विस्तारलगायतका विधामा उत्कृष्ट बनेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापालाई सम्मान गरिएको हो।

पोखराको होटल पौवामा शुक्रबारदेखि सुरु भएको सत्रौँ वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महासंघका झापा अध्यक्ष बिनोद सापकोटालाई दोसल्ला, माला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सत्रौँ केन्द्रीय वार्षिक साधारण सभामा महासंघका केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाका अध्यक्ष, सचिवलगायत ३०० बढी प्रतिनिधिको सहभागिता थियो। साधारण सभामा विभिन्न जिल्लाका कार्यसमितिहरूलाई उत्कृष्ट कार्यको लागि सम्मान गरिएको हो ।
झापा जिल्लाको कार्यसमिति एकदमै सक्रिय, प्रभावकारी, संगठन निर्माणमा अब्बल भएको बताउँदै केन्द्रीय अध्यक्ष शिवसागर शर्माले झापाले महासंघलाई उत्कृष्ट योगदान दिएको प्रशंसा गरे । यस सम्मानले झापा जिल्लाको पुस्तक तथा स्टेशनरी व्यवसायलाई थप उचाईमा पुर्याउने उनले विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्षले झापा जिल्लाको कार्यसमितिका सदस्यहरूप्रति आभार व्यक्त गर्दै भने, “तपाईंहरूको अथक परिश्रम र समर्पणले महासंघको कार्यलाई सशक्त बनाएको छ। यस सम्मानले हामीलाई अझ बढी जिम्मेवार बनाउँछ।“

साधारण सभामा नेपालका ५७ जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
साधारण सभामा पुस्तक तथा स्टेशनरी व्यवसायको क्षेत्रमा नयाँ दिशा र चुनौतीहरूको बारेमा व्यवसायीहरूबीच व्यापक छलफल भएको थियो।

कार्यक्रममा व्यवसायसँग जोडिएका पुस्तक र स्टेशनरी सामग्रीको व्यापारमा नयाँ प्रविधिहरू, बजारका सम्भावना र चुनौतीका विषयमा पनि जानकारी आदान प्रदान गरिएको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष शिवसागर शर्माको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए महासचिव विष्णु पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष धनराज आचार्यले सातवटै प्रदेशको आगामी प्रदेश अधिवेशन पोखरामा गर्न सार्वजनिक रुपमा आह्वान गरे।

यसैबीच नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय समितिको आयोजनामा पहिलो पटक महिला सम्मेलन गरिएको छ।

पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि ऐतिहासिक महिला सम्मेलन सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष कृष्णचन्द्र पोखरेलले बताए ।

सम्मेलनमा देशभरका करिब ३०० पुस्तक तथा स्टेशनरी व्यवसायमा संलग्न महिला व्यवसायीको सहभागिता छ। यो सम्मेलनबाट महिलालाई व्यवसायमा कसरी अब्बल बनाउन सकिन्छ, नेतृत्व कसरी प्रदान गर्न सकिन्छ र पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको महासंघकी केन्द्रीय सचिवसमेत रहेकी कार्यक्रम संयोजक कोपिला गिरीले बताइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्