झापा, माघ १२ । ‘नो केवलकार समूह’ र प्रहरीबीच पाथीभरा क्षेत्रमा शनिबार झडप हुँदा १४ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो ।


झडपमा जनपद र सशस्त्र प्रहरीका १३ जना घाइते भएका छन् भने एकजना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै दुईजना प्रदर्शनकारी पक्राउ परेका छन् । साँझ ५ः४५ बजे एरिया गस्ती जाने क्रममा केवलकार खारेजी पक्षले प्रहरीमाथि ढुंगा,लाठी,गुलेली,दाउराको चिरपट,घरेलु हतियारहरुले प्रहार गर्दा प्रहरीले आफ्नो बचाउ गर्ने क्रममा थप प्रहरीको तर्फबाट ५ वटा ग्यास सेल, एसएलआरको ब्लाईङ राउण्ड ५ र एसएलआरको लाईफ राउण्ड ५ वटा फायर भएको थियो । त्यस्तै सशस्त्र प्रहरी बलबाट थप ५ वटा ग्यास सेल, एसएलआरको लाईफ राउण्ड ५ वटा,एसएलआरको ब्लाईङ राउण्ड ४ वटा,ग्यास ग्रिनेट एउटा फायर भएको थियो । प्रहरीले प्रदर्शनकारीको साथबाट थप ३ वटा धारिलो हतियार खुकुरी फेला पारी नियन्त्रमा लिएको छ ।

प्रदर्शनकारीतर्फ तेह्रथुम म्याङलुङ ९ पाटीगाउँ बस्ने अन्दाजी बर्ष ३५ का यामबहादुर लिम्बू घाइते भएका छन् । दाहिने खुट्टामा चोट लागेका लिम्बूलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।

त्यस्तै म्याङलुङ ९बस्ने अन्दाजी बर्ष ३७ का चन्द्रसागर लिम्बू र ताप्लेजुङ सिदिङवा ५ बस्ने अन्दाजी बर्ष २७ का लक्ष्मण लिम्बू पक्राउ परेका छन् । उता जनपद प्रहरीतर्फ ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा

(१)प्रनि रोहित कुमार शर्मा बढई,बायाँ गालामा चोट
(२) प्रसनि रोशन थेबे बायाँ खुट्टामा चोट
(३) प्रह दिनेस माझी बायाँ खुट्टामा चोट
(४) प्रज पदम रिजाल बायाँ तिघ्रामा चोट
(५) प्रज रमेश लिम्बू टाउकोमा चोट
(६)प्रज पदम लिम्बु दाहिने घाँटीमा चोट
(०७)प्रज अजयकुमार राय कम्मरमा चोट
(०८)प्रसह अमरेस सिवा घाँटीमा चोट
उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

त्यस्तै सशस्त्र प्रहरीतर्फ ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा
(१) प्रनि डिगेन्द्र ओली बायाँ खुट्टामा चोट
(२) प्रनानि कृष्णदेव यादव बायाँ हातमा चोट
(३) प्रज बिरेन्द्रकुमार साह ढाडमा चोट
(४) प्रसनि सोमदेव यादव घाँटीमा चोट
(५) प्रसह टीकाराम खवास ढाडमा चोट
प्रहरीतर्फ सिल्ड ढाल ६ वटा पूर्णरुपमा क्षति भएको छ भने सिल्ड ढाल ४ वटा आंशिक क्षति भएको जनाइएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए । उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेलीलगायतका सामान बरामद गरेको पनि जानकारी दिए ।
‘माथिल्लो फेदी क्षेत्रमा बसेर उनीहरूले गलत हर्कत गरिरहेको सूचनाका आधारमा हाम्रो (एपीएफ) र नेपाल प्रहरीको टोली अध्ययनका लागि गएको थियो,’ सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले भने, ‘उनीहरूले माथिबाट आक्रमण गरेपछि हाम्रो टोलीले अश्रुग्यास हानेको हो ।’

सशस्त्रले गोली हानेको र विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको आन्दोलनरत पक्षका श्री लिङ्खिमले दाबी गरे । ‘हामी भोलिदेखि गर्ने शान्तिपूर्ण आन्दोलनको प्लेकार्ड बनाउने लगायतका तयारी गरिरहेका थियौं, त्यही बेला आएको प्रहरी टोलीले प्लेकार्ड च्यात्ने, गाउँबाट आएकालाई लात्ताले हान्ने जस्ता हर्कत गरेपछि आमनेसामने भएको हो,’ श्रीले भने । मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समितिलगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ । मंगलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका छन् । उनीहरूले तीन सयभन्दा बढी भेला भएको दाबी गरेका छन् ।

केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हडताल लगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्