झापा, माघ १३ । झापाको कचनकवल –७ सिधागुरीमा अवस्थित गगन आधारभूत विद्यालयका शिक्षकहरुले तलव पाएका छैनन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कनकप्रसाद राजवंशी र प्रधानाध्यापक देवनारायण राजवंशीविचको विवादका कारण माघको दोस्रो साता अन्त्य हुँदासम्म शिक्षकहरुले तलव नपाएका हुन् । हरहिसाब नमिलेको भन्दै कचनकवल गाउँपालिकाले तलब रोक्का गरेको प्रधानाध्यापक राजवंशीले बताए ।
गत वर्ष मात्र सोही विद्यालयका पूर्व प्रधानाध्यापक लिलाबल्लभ भट्टराईसंग व्यवस्थापन समिति अध्यक्ष राजवंशीको विवाद हुँदा लामो समय पठनपाठनमा अवरोध भएको थियो । भट्टराईले पढाउने वातावरण नभएको भन्दै सो विद्यालयवाट सरुवा लिएर लक्ष्मी मावि गएका थिए। पूर्व प्रअको राजीनामा आएपछि नयाँ प्रअ राजवंशीसंग पनि उस्तै प्रकृतिको विवाद चर्किदै गई लामो समयसम्म विवाद यथावत रहेको बताइएको छ ।
यसवाट विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै शिक्षक कर्मचारीहरुले हालसम्म तलब समेत नपाएका हुन् । गाउँपालिकामा समेत महिनौ छलफल हुँदासमेत समस्या समाधान नभई विद्यालयको पढाई एवं दैनिकीमा गम्भीर असर देखिएको छ । सो विद्यालयमा १३ जना शिक्षक कार्यरत रहेका छन् ।



