झापा, माघ १३ । राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपको अनुगमन गरेको छ ।

फुङलिङ नगरपालिका ११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर शनिवार विवादको क्रममा झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ घाइते भएका थिए । सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगको कोशी प्रदेश कार्यालयले अनुगमन गरिरहेको जनाएको छ । यस सम्बन्धमा स्थानीय आदिवासी समुदायले पाथीभरा क्षेत्र स्थानीय लिम्बू याक्थुङ समुदायको सांस्कृतिक एवम् आध्यात्मिक विश्वासको केन्द्र रहेको हुँदा यसको ऐतिहासिक नाम मुक्कुम्लुङ नै राख्नुपर्ने, केबुलकार निर्माण कार्य बन्द गर्नुपर्ने, विकास निर्माणका कार्य गर्दा आदिवासी समुदायबाट अग्रिम जानकारीसहितको स्वतन्त्र, सुसूचित सहमति लिनुपर्ने जस्ता माग पेश गरेका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका सगुन लावती, यमबहादुर लिम्बू र धर्म पालुङ्वाको अवस्था गम्भीर रहेको, गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल पठाएको, प्रदर्शनकारीतर्फका अन्य दुईजना घाइतेको ताप्लेजुङ अस्पतालमा उपचार भई डिस्चार्ज गरिएको र अन्यको अवस्था सामान्य रहेको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ । प्रहरीतर्फका ७ जनाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको पाइएको छ ।

यसअघि आयोगले गत मंसिर २ देखि ८ गतेसम्म स्थलगत अनुगमन गरी वार्ता र सहमतिपश्चात् मात्र निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको थियो । आयोगका सहसचिव प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी विकास निर्माणको क्रममा आउन सक्ने यसप्रकारका असहमति र विवादको समयमै पहिचान र सम्बोधन गर्न आग्रह गरेका छन् ।विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न , झडपको क्रममा घाइते व्यक्तिहरुको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न, एक आपसमा देखिएका विवाद र असहमतिहरुलाई सार्थक वार्ता र संवादको माध्यमबाट समाधान गर्न विज्ञप्तिमा नेपाल सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । साथै, प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्