बिर्तामोड, माघ १३ । अल्पायुमै निधन भएका कांग्रेसका युवा नेता लक्ष्मण खड्काको स्मृतिमा स्मृति भवन तथा बिर्तामोड नगर पार्टी कार्यालय भवन निर्माण हुने भएको छ ।

सो भवनको कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आइतवार शिलान्यास गरेका छन् । खड्काको स्मृतिमा बनाउन लागिएको नगर पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड ३० लाख लागत अनुमान गरिएको निर्माण समिति संयोजक सजेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार अढाइ तले भवनको भुइँतलामा कार्यक्रम हल, पहिलो तलामा नगरको पार्टी कार्यालय एवं दोस्रो तलामा भ्रातृ संघ संस्था तथा वडा समितिका लागि कार्यकक्ष बनाइने छ । उनले एक बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै सबै तहका नेता कार्यकर्ताको सहयोगबाट भवन निर्माण गरिने जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री सिटौलाले पार्टीको नीति, सिद्धान्त र विचारमा प्रतिबद्ध एवं अनुशासित भएर जनताप्रति समर्पित भई जनमुखी कार्य गर्न कार्यकर्तालाई आह्वान गरे । ‘पार्टीको नीति, सिद्धान्त र विचार नमान्ने विकृति सबै पार्टीमा देखिएको छ ’उनले भने,‘नेपाली कांग्रेस प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा प्राप्त जनमतका आधारमा सबैभन्दा ठूलो पार्टी हो । हामीले आफू अनुशासित भएर अरुलाई राजनीतिक संस्कार सिकाउनुपर्छ । ’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले पार्टीका सबै नेता कार्यकर्ताको स–सानो लगानीबाट नगर पार्टी कार्यालय बनाउन सकेमात्रै अपनत्व हुने र लक्ष्मण खड्काप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखिन् ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गाउँ÷नगर, वडामा खटिएका प्रतिनिधिहरु र सम्बन्धित तहगत समितिले टोल एवं वडाकेन्द्रित कार्यक्रम तय गरेर संगठनलाई सक्रिय बनाउन आग्रह गरे ।

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महिला नेतृ यज्ञकुमारी सिटौला, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, लक्ष्मण खड्का स्मृति भवन निर्माण समितिका संयोजक सजेश शिवाकोटी, क्षेत्र नं–२ ख का सभापति किरण श्रेष्ठ, वडा सभापतिहरुको तर्फबाट बिर्तामोड–२ का सभापति देवी खरेललगायतले मन्तब्य राखेका थिए ।

नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथि नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले प्रकाश पारेका थिए । नगरका संगठन विभाग प्रमुख कुलप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्षेत्र नम्बर–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले गरेका थिए ।

मन्तब्य राख्ने अधिकांश बक्ताहरुले लक्ष्मण खड्काको स्मृतिमा जग्गा प्रदान गर्ने उनकी पत्नी अञ्जु खड्काप्रति आभार ब्यक्त गरेका थिए । नेपाली कांग्रेस झापाको सहसचिव पदमा बहाल रहेका बेला खड्काको २०७४ साल चैतमा अल्पायुमै निधन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्