विनोद सापकोटा,
झिलझिले । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ का चार वटा सामुदायिक विद्यालयलाई आवश्यक शिक्षण सामग्री उपलब्ध गराउने उद्देश्यले वडाले एक विद्यालयलाई प्रिन्टर र अन्य तीनवटालाई ल्यापटप प्रदान गरेको छ ।

मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा ती विद्यालयले शैक्षिक सामग्री प्राप्त गरेका हुन् ।
वडाको झिलझिले माध्यमिक विद्यालयले एक थान प्रिन्टर पाएको छ भने भगवती, सरस्वती, र अरुणोदय आधारभूत विद्यालयले एक–एक थान ल्यापटप प्राप्त गरेका छन् । वडाध्यक्ष सन्तकुमार फेउदिनले वडाका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडाको बजेटबाट ती शैक्षिक सामग्री प्रदान गरिएको बताए ।
यो कार्यक्रममा वडा कार्यालयको २ लाख ५० हजार र शिवसताक्षी नगरपालिकाको १ लाख आर्थिक सहयोग छ । वडा कार्यालय र नगरपालिकाको संयुक्त आर्थिक सहयोग कुल ३ लाख ५० हजारमा शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष फेउदिनले बताए ।
लाभग्राही विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निमित्त प्राप्त शैक्षिक सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । झिलझिले माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुङ्गानाले भने, ‘वडाका सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर निकै उपयोगी सामग्री हुनेछ ।’ यसले शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने उनले बताए । प्रविधिको प्रयोगले विद्यार्थीहरूको अध्ययनलाई नयाँ ढंगले अघि बढाउन ल्यापटप सहयोगी हुने उनले बताए ।
यस्तै अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक तारा लावतीले पनि यो सहयोगका लागि वडालाई कृतज्ञता ज्ञापन गर्दै भनिन्, ‘आजको युग प्रविधिको युग हो । हरेक विद्यालयमा ल्यापटपलगायत अन्य प्रविधियुक्त शिक्षण सामग्रीको आवश्यकता बढेको छ । विद्यालयलाई प्राप्त उपकरणहरूको सहयोगले हाम्रो विद्यालयको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
सामुदायिक विद्यालयहरूको शैक्षिक प्रवृत्तिलाई प्रवर्धन गर्ने र विद्यार्थीहरूको लागि थप उत्कृष्ट अध्ययन गराउने वातावरण सिर्जना गराउने लक्ष्य वडा कार्यालयले राखेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ को यो पहलले विद्यालयको शैक्षिक स्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास स्थानीय अभिभावकहरूले समेत गरेका छन् ।
शिवसताक्षी नगरपालिका का ११ वटा वडामध्ये वडा नम्बर ८ ले वडाभित्रका सामुदायिक विद्यालयको क्षमता विस्तारका लागि यस्ता शैक्षिक सामग्री पहिलोपटक प्रदान गरेको हो । यो कार्यक्रमले वडाका जनप्रतिनिधिको मनोवल समेत उच्च बनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मेगाहाङ थोप्राले वडा र नगरको संयुक्त आर्थिक सहयोगमा प्राप्त यी सामग्रीको अधिकतम उपयोग गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई अनुरोध अनुरोध गरेका छन् । विभिन्न योजनाका माग र निवेदनहरू लिएर जति पनि नगरवासीहरू नगरमा पुग्नुहुन्छ । उहाँहरुले पूर्वाधार निर्माणबाहेक अरु कुनै विषयवस्तुलाई नगर कार्यपालिकासँग माग नगरेको उनले बताए ।
कार्यक्रम वडा कार्यालयका कर्मचारी कुमारसिंह साँवाले सञ्चालन गरेका थिए भने ल्यापटप र प्रिन्टर वितरण कार्यक्रमको औचित्यमाथि वडा अध्यक्ष सन्तकुमार फेउदिनले प्रकाश पारेका थिए ।