झापा,माघ १७ । पूर्वका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।

हिजो दिउँसो २.१० बजे इलाम फाकफोकथुम– ६ मेतालुङस्थित भित्री सडकखण्डमा प्र.१–०१–००२ त. ०५३१ नम्बरको ट्रयाक्टर मेतालुङबाट मल बोकेर जाने क्रममा ब्रेक फेल भई रोडबाट अन्दाजी ४५ मिटर तल झरेर दुर्घटना भएको हो । ट्रयाक्टर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने चालक फाकफोकथुम– ६ हाङमासुली बस्ने ३० वर्षीय दिलकुमार राई सामान्य घाइते भएका छन् भने ट्रयाक्टरमा सवार फाकफोकथुम– ६ मेतालुङ बस्ने ५ वर्षीय समृत राई गंभीर घाइते भएका छन् । बालक राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

त्यस्तै गएराति ८ बजे संखुवासभा खाँदबारी – १० सागर डाँडास्थित भित्री सडकखण्डमा ना ७ ख ४६९२ नं. को टिपर तुम्लिङटारबाट नागेश्वरतर्फ ढुंगा बोकेर जाँदै गरेको अवस्थामा अचानक आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल झरेर दुर्घटना भएको छ । दुर्घटनामा टिपर चालक संखुवासभा चिचिला– ३ दिदिङ बस्ने अन्दाजी ४५ वर्षीय बिनोद राई घाइते भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारीतर्फ पठाइएको छ ।

त्यस्तै हिजो बिहान ८.३० बजे सुनसरी बर्जु –१ झोरावानस्थित चिमडी–विराटनगर भित्री हुलाकी राजमार्गको सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कुखुरा बोकेको प्र१–०४–००१च १३०८ नम्बरको महिन्द्र पिकअप भेन हुस्सुका कारण आफै अनियन्त्रित भई सडकको साइडमा रोकेर राखेको को२त ६६०२ नम्बरको आलु लोड भएको ट्रयाक्टरमा ठोक्किएको छ ।

दुर्घटनामा पिकअप चालक सुनसरी बर्जु –५ बस्ने अन्दाजी २४ वर्षीय रोशन पण्डित , सहचालक बर्जु– ६ बस्ने अन्दाजी २७ वर्षीय संजित चौधरी र पिकअपमा काम गर्ने कामदार अन्दाजी ४२ वर्षीय प्रह्लाद चौधरी घाइते भएका छन् । ट्रयाक्टर चालक सुनसरी देवानगंज–५ बस्ने अन्दाजी ५० वर्षीय ब्रम्हदेव यादवलाई प्रहरी चौकी शुक्रबारे सुनसरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्