लक्ष्मी उप्रेती,

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाको कूल राजस्व संकलनमा आयाततर्फ सवैभन्दा बढी पेट्रोलियम पदार्थले ५९ दशमलव ८३ प्रतिशत योगदान दिएको छ । कूल राजस्व संकलनमा मुख्य दश वस्तुहरुको योगदान प्रतिशतले सो देखाएको हो । सवैभन्दा कम जुत्ता चप्पलले १ दशमलव २४ प्रतिशत योगदान दिएका छन् ।

पेट्रोलियम पदार्थ, तरकारी (लसुन समेत), यातायातका साधन र तीनका पार्टपूर्जा, खनिज उत्पादन, दलहन, प्लाष्टिकका कच्चा पदार्थ, कफी, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पाटपूर्जा, काठ जुत्ताचप्पल मुख्य दश वस्तुहरुमा पर्दछन् ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा यो नाका भएर ९ अर्ब २५ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ५३ हजार ९ सय २५ किलोलिटर विभिन्न प्रकारका पेट्रोलियम पदार्थ आयात हुँदा ४ अर्ब ४९ करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व असुली भएको छ । उता १५ करोड ९० लाख ३२ हजार रुपैयाँका जुत्ताचप्पल आयात गर्दा ९ करोड ३१ लाख १५ हजार रुपैयाँ राजस्व संलकन भएको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।

यसैगरी, कार्यालयको अभिलेख अनुसार १ अर्ब ५८ करोड ६६ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको तरकारी (लसुन समेत) आयातबाट ३७ करोड ७३ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसबाट राजस्व असुलीमा ५ दशमलव शून्य २ प्रतिशत योगदान पुगेको छ । कूल राजस्व संकलनमा मुख्य दश वस्तुहरुमध्ये तरकारी (लसुन समेत) दोस्रो स्थानमा रहेको छ ।

यातायातका साधन र तीनका पार्टपूर्जा आयातबाट राजस्व संकलनमा ३ प्रतिशत योगदान रहेको छ । यसबाट कार्यालयले २२ करोड ५५ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । खनिज उत्पादनले १ दशमलव ८२ प्रतिशत, दलहनले १ दशमलव ७३ प्रतिशत,प्लाष्टिकका कच्चा पदार्थले १ दशमलव ६६ प्रतिशत, कफीले १ दशमलव ५६ प्रतिशत, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पाटपूर्जाले १ दशमलव ४३ प्रतिशत, काठले १ दशमलव ३३ प्रतिशत राजस्व संकलनमा योगदान दिएको कार्यालयका सूचना अधिकारी कँडेलले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्ममा काँकरभिट्टा नाका भएर ४२ करोड ८६ लाख९ हजार रुपैयाँ काठ आयात गर्दा १० करोड २ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ, भने सोहि अवधिमा ४५ करोड ५८ लाख ६७ हजार रुपैयाँको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पाटपूर्जा आयात भएको छ । त्यसबाट भन्सारले १० करोड ७७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको अभिलेख छ ।

मुलुकमा कफी उत्पादन वृद्धि नहुँदा आयात ह्वात्तै बढेको छ । सरकारले कफी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएपनि ६ महिनाको अवधिमा भन्सार नाका भएर १९ करोड ३ लाख ४१ हजार रूपैयाँको कफी आयात भएको छ । भन्सारले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यसबाट यो अवधिमा ११ करोड ७२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालबाट कफी निर्यात भइरहे पनि त्योे सामान्य रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्