
झापा,माघ १८ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकले विगतभन्दा सस्तो दरमा हवाई टिकट पाएका छन् । सस्तोमा टिकट पाउँदा श्रमिकलाई राहत भएको छ । अहिले श्रमिकले ७३ हजार रुपियाँ सस्तोमा टिकट पाएका हुन् । इपिएसमार्फत दक्षिण कोरिया जाने श्रमिकले महँगो मूल्य तिरेर सिधा उडानबाट जानुपर्ने बाध्यतालाई अन्त्य गरी ट्रान्जिट हुने व्यवस्था गरेसँगै त्यहाँ जाने श्रमिकलाई आर्थिक रूपमा ठुलो राहत भएको हो । यसअघि इपिएसबाट दक्षिण कोरियामा रोजगारीमा जानेलाई सिधा उडानमा कोरियन एयरलाइन्सको एकाधिकार थियो ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकलाई ट्रान्जिटमार्फत जान पाउने व्यवस्थाले प्रतिश्रमिक करिब ४९ हजार रुपियाँको टिकटमा कोरिया पुग्ने व्यवस्था कार्यान्वयन भएको जानकारी दिए। उनका अनुसार यसअघि कोरिया एयरलाइन्सको सिधा उडानबाट जाँदा प्रतिव्यक्ति एक लाख २२ हजार रुपियाँ तिर्नु पथ्र्यो । ट्रान्जिटको व्यवस्था गर्नेबित्तिकै प्रतिश्रमिक ७३ हजार रुपियाँ हवाई भाडा सस्तिएको छ ।
नेपाल सरकारको पटक पटकको आग्रहपछि कोरिया सरकार ट्रान्जिट हुने हवाई टिकटबाट श्रमिक लैजाने कुरामा सहमत भएको महानिर्देशक खत्रीले जानकारी दिए । “सकेसम्म आफैँ टिकट लिन पाउने व्यवस्थाको प्रस्तावमा सहमत नभए पनि ट्रान्जिट उडानका लागि कोरियालाई मनाउन सफल भयौँ,” उनले भने ।
महानिर्देशक खत्रीले पछिल्ला वर्ष वार्षिक औसत १५ हजार श्रमिक दक्षिण कोरिया जाने गरेको र यो व्यवस्था कार्यान्वयनले अबका वर्षमा श्रमिकको एक अर्बभन्दा बढी रकम जोगिने दाबी गरे ।