झापा, माघ १८ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीका क्रममा २४ करोड ६७ लाख ३२ हजारभन्दा बढी ठगिएको दाबीसहित उजुरी परेको छ । विभागमा परेका उजुरीमध्ये ठुलो संख्या व्यक्तिगत प्रकृतिका छन् ।
विभागका अनुसार वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीको फस्र्योट गत आवको तुलनामा आठ प्रतिशतले घटेको छ । चालु आवको छ महिनामा तीन हजार ४०५ उजुरी दर्ता भएकामा एक हजार २३० वटा (३६.१२ प्रतिशत) मात्र फस्र्योट भएका छन् । गत आवको सो अवधिमा विभागमा दर्ता भएका दुई हजार ६२९ उजुरीमध्ये एक हजार १८१ वटा (४४.९२ प्रतिशत) फस्र्योट भएका थिए ।
चालु आवमा एक हजार २३० उजुरी फस्र्योट हुँदा विभागले २४ करोड ६७ लाख ३२ हजार ६६० रुपियाँ क्षतिपूर्ति भराएको छ । गत आवको सो अवधिमा एक हजार १८१ वटा उजुरी फस्र्योट हुँदा विभागले १४ करोड नौ लाख १८ हजार छ सय रुपियाँको क्षतिपूर्ति भराएको थियो । चालु आवमा उजुरीको संख्या र क्षतिपूर्ति रकम धेरै भए पनि उजुरी फस्र्योट दर भने गत आवभन्दा घटेको देखिएको छ ।
विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै मुद्दा शाखामा दुई हजार १६ वटा उजुरी दर्ता भएका छन् । सो शाखामा दर्ता भएका उजुरीमध्ये ३९५ वटा (१९.५९ प्रतिशत) मात्रै फस्र्योट भएका छन् । ती उजुरी फस्र्योट गराउँदा १९ करोड ६७ लाख ९९ हजार ११० बराबरको क्षतिपूर्ति भराएको विभागले जनाएको छ । गत आवको सो अवधिमा विभागले मुद्दा शाखामा एक हजार २८५ वटा उजुरी दर्ता भएकोमा ३३१ वटा (२५ प्रतिशत) फस्र्योट गराएर १२ करोड ४८ लाख ४७ हजार छ सय बराबरको रकम क्षतिपूर्ति भराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्