झापा, माघ १९। झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा एक सय ६० तथा आव २०८०÷८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउछन् । जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले बताए । प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा.सुजन काफ्लेले आर्थिक वर्ष २०७९÷८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्