झापा, माघ १९ । भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कोरपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ।

महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्कोरपियो विहारको मुजफ्फरपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो।

दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। तीव्र गतिमा रहेको स्कोरपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन्। मोटरसाइकललाई बचाउन खोज्दा स्कोरपियो अनियन्त्रित बनेको थियो।
‘पाँच जनाको घटनास्थलमै मृत्यु भयो। जसमध्ये तीन जना महिला छन्। चार जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ,’ उनले भनेकी छन्।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग बुझ्ने प्रयास भइरहेको जनाएको छ। दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडकखण्डमा रहेको मधुबनी मन्दिरनजिक भएको बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्