
झापा,माघ २० । हिउँद सुरु भएसँगै मोरङका सिमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सिमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सिमसार क्षेत्रमा बनभोज खान पुग्ने मात्र होइन, सङ्घसंस्थाको साधारणसभा, गोष्ठी र सेमिनार पनि सिमसार क्षेत्रमा हुने गरेको छ ।
मोरङमा सबैभन्दा व्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेलबारी –४ मा बेतना सिमसार पर्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँसम्म पाइँदैन । १७४ दशमलव ९१ हेक्टरमा फैलिएको सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफल सिमसार क्षेत्र छ । ७ हेक्टरमा पोखरी क्षेत्र छ ।
हिउँदमा साइबेरियादेखि दुर्लभ प्रजातिका चराहरु आउने गरेकाले पनि यो क्षेत्र आकर्षक गन्तव्य बनि रहेको जानकारहरू बताउँछन् । बेतना सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको सिमसार क्षेत्रको अर्को आकर्षण विश्वकै दुर्लभ प्रजातिका कछुवा हुन् ।
सिमसारभित्र सय केजीभन्दा बढी तौलका कछुवाहरू जो कोहीले सजिलै अवलोकन गर्न सक्ने वनका अध्यक्ष शम्भु भट्टराई बताउछन् । बेतनालाई दुर्लभ प्रजातिका कछुवाको प्रजनन केन्द्रका रुपमा पनि चिनिन्छ । विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति बेतना सीमसार क्षेत्रका थप आकर्षण हुन् । अझ पछिल्लो समय सीमसार परिसरमा चिडियाखानको झल्को दिने गरी उद्धार गरी ल्याइएको जङ्गली जीवजन्तुको संरक्षण गरिएको छ । अध्यक्ष भट्टराईका अनुसार सिमसार क्षेत्रमा नीलगाई, विभिन्न प्रजातिका बाँदर, लोखर्के, वन बिरालो, सर्प, अजिङ्गर, चाइनिज मुसा, खरायो, लाटोकोसेरो, हुचिल, दुम्सी, चित्तललगायतका जीवजन्तु संरक्षण गरिएको छ ।