बिर्तामोड,माघ २० । झापाको बिर्तामोडस्थित गायत्री माता मन्दिरमा जारी धार्मिक अनुष्ठानमा नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् ।


माघ १७ गते सुरु भएको धार्मिक कार्यक्रमअन्तर्गत आज माघ २० गते साँझ ६ः३० बजे जगतगुरुले विशेष प्रवचन दिने कार्यक्रम रहेको आयोजक समितिका संयोजक रोनक बंशलले जानकारी दिए। उक्त प्रवचन सुन्नका लागि हजारौं भक्तजन उपस्थित हुने अपेक्षा गरिएको छ ।

जगतगुरुको आगमनलाई भव्य बनाउन आयोजक समिति विशेष तयारीमा जुटेको छ । आज बेलुका ५ः३० बजेबाट भजन–कीर्तनको कार्यक्रम तय गरिएको छ । उक्त अवसरमा भारतका चर्चित भजन गायकहरू नेहा सिंह राजपुत, धीरज सिंह राजपुत, साहिल कोहली तथा नेपालका भजन गायक रोशन अधिकारीले भजन प्रस्तुत गर्नेछन् ।

मन्दिरमा दैनिक रूपमा हुने भजन–कीर्तनमा झण्डै २ हजार भक्तजनको उपस्थिति रहँदै आएको छ । आजको विशेष कार्यक्रममा थप भक्तजन सहभागी हुने अनुमान गरिएको छ । जसलाई मध्यनजर गर्दै आयोजकले आवश्यक व्यवस्थापन मिलाएको संयोजक बंशलले जानकारी दिए ।

को हुन् जगतगुरु मोहनशरण देवाचार्य ?
नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य एक प्रतिष्ठित हिन्दु आध्यात्मिक गुरु तथा धर्मगुरु हुन् । उनको जन्म वि.सं. २०३३ साल मंसिर २७ गते झापा जिल्लाको बुधबारेमा पिता डिल्लीराम भट्टराई र माता तुलसादेवी भट्टराईको कोखबाट भएको हो। बाल्यकालदेखि नै विलक्षण प्रतिभाका धनी उनले प्रारम्भिक शिक्षापश्चात् वृन्दावनमा अनन्त श्री विभूषित स्वामी श्री परशुराम देवाचार्य महाराजसँग ज्ञान प्राप्त गरेका हुन् । त्यहाँ उनले निम्बार्क सम्प्रदायमा दीक्षित भई “मोहनशरण“ नाम प्राप्त गरेका थिए ।

उनको लगनशीलता, कर्तव्यनिष्ठा, अनुशासन, मर्यादा, सदाचारिता र सहिष्णुताका कारण वृन्दावनका वरिष्ठ सन्त, महन्तहरूले “बालसन्त” उपाधिले सम्मान गरेका थिए । वि.सं. २०६७ साल वैशाख १ गते काशी पण्डित सभाले उनलाई “जगतगुरु” उपाधिद्वारा विभूषित गरेको थियो ।

उनले नेपालमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धिमा विशेष योगदान दिएका छन् । चतराधाममा कुम्भ मेला आयोजना, नेपालमाताको ७५ फिट अग्लो मूर्ति निर्माणको संकल्प तथा विभिन्न धार्मिक ग्रन्थहरूको प्रकाशन उनका प्रमुख कार्यहरूमा पर्दछन् । उनका प्रकाशित कृतिहरूमा “सप्तकौशिकी माहात्म्य”, “नेपालको चारधाम माहात्म्य”, “जगद्गुरु स्वभूराम देवाचार्यज्यूको जीवनी”, “श्री निम्बार्क दर्शन परिचय”, “श्री शंखमूलधाम माहात्म्य” आदि रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्