झापा, माघ २० । झापा गौरीगञ्जको आठमौजा छोटी भन्सार कार्यालय आजदेखि पुनः सञ्चालनमा आएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाबाट नायव सुब्बा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा ४ जना कर्मचारी खटाइएको छ । ती कर्मचारीहरुले आजदेखि कामकाज शुरु गरेको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले बताए । कोरोना कालदेखि सो भन्सार बन्द रहेको थियो ।
मेची भन्सार कार्यालयअन्तर्गत ७ वटा छोटी भन्सार रहेका छन् । कतिपय छोटी भन्सारको नामोनिशान नै छैन ।
भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकरभिट्टा र भद्रपुर गरी दुई वटा मुख्य नाका छन् । दुवै नाकामा मूल भन्सार रहेका छन् । जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेका थिए । तर, काँकरभिट्टा र भद्रपुर नाकाबाहेक अन्य भन्सारहरु लामो समयदेखि कोरोना महामारीका कारण बन्द छन् ।
बिहारको फत्तेपुर नाकासँग जोडिएको छोटी भन्सार आठमौजा संचालन भएपछि माई पश्चिमका बासिन्दालाई सहज हुने भएको छ । छोटी भन्सार बन्द भएपछि सीमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।