बिर्तामोड, माघ २० ।झापाको बिर्तामोडमा प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ देखि फागुन ५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । महिला खेलाडीहरुको उत्पादनमा सहयोग, प्रवद्र्धन एवम् प्रोत्साहन गर्ने उद्धेश्यले प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आइतवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले बताए ।

प्रतियोगितामा जिल्लाका १५ पालिकामध्ये बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगरपालिका तथा झापा, कमल र बुद्धशान्ति गाउँपालिकाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

प्रतियोगिताका लागि ३४ लाख ६६ हजार रुपैयाँ अनुमानित खर्च हुने अध्यक्ष गिरीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख र दोस्रो पुरस्कार एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । साथै बिभिन्न बिधागत पुरस्कार पनि रहेको बताइएको छ । वुमेन अफ द म्याचलाई ५ हजार र वुमेन अफ द सिरिजलाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न मूल आयोजक समितिसंगै विभिन्न उपसमितिहरु ग्ठन गरिएका छन् । अध्यक्ष गिरीको संयोजकत्वमा आर्थिक समिति, सन्तोष गुरुङको संयोजकत्वमा खेलमैदान ब्यवस्थापन, विशाल अग्रवालको संयोजकत्वमा प्रचारप्रसार, गणेश कटुवालको संयोजकत्वमा खेलाडी ब्यवस्थापन, रमेश उप्रेतीको संयोजकत्वमा मञ्च ब्यवस्थापन र आशा गुरुङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको हो ।

स्वागतसहित औचित्यमाथि अध्यक्ष गिरीले प्रकाश पारेको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, एन्फा झापाका अध्यक्ष भगीरथ आलेमगर (मामा) ले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन सचिब विसन लिम्बूले गरेका थिए ।

झापामा महिला फुटबल हुँदै आएको छ । डोमालाल राजवंशी रंगशालामै तीन वर्षअघि तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्